
इलाम, २ फागुन – कथा लेखनको माध्यमबाट विद्यार्थीलाई साहित्य क्षेत्रमा अभिरुचि जगाउने उद्देश्यले जिल्लामा पहिलोपटक कथा लेखन तालिम सुरु गरिएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) जिल्ला कार्यसमिति इलामको आयोजना तथा विवेक सृजनशील पब्लिकेसन प्रालि काठमाण्डुको सहयोगमा बिहीबारदेखि सुरु भएको तालिम तीन दिन सञ्चालन हुनेछ ।
तालिममा ज्योति सदन बोर्डिङ स्कुल, ज्योति विद्या मन्दिर, ग्रिनभ्याली, माउन्टमेची बोर्डिङ स्कुल, सुनाखरी, हेरिटेज नेसनल एकेडेमी, प्रज्ञासदन, विवि मेमोरिय, मन्टेसरी, हेलियोसिस, बरबोटे इङलिस बोर्डिङ स्कुल र गोल्डेन फ्युचर गरी १२ वटा संस्थागत विद्यालयका ४५ जना विद्यार्थी सहभागी छन् ।
बाल साहित्यलाई उजागर गर्दै विद्यार्थीलाई कथा लेखन कार्यमा प्रेरित गराउन पब्लिकेसनले सहयोग गरेको प्रालिका निर्देशक तथा कथा लेखक विजयराज आचार्यले बताए । तालिममा सहभागी विद्यार्थीहरूले लेखेका उत्कृष्ट रचनाहरूलाई पुस्तकका रूपमा प्रकाशन गरिने उनले जानकारी दिए ।