संखुवासभा, २९ चैत – संखुवासभामा गएको १७ गते भएको तीनजनाको हत्याको नयाँ रहस्य सार्वजनिक भएको छ । संखुवासभाको पाथीभरा १ का १६ वर्षीय निमा तेम्वा शेर्पाले बलात्कार गर्न नपाएपछि घरमा सुतिरहेका तीन जनाको हत्या गरेको प्रहरीले जनाएको छ ।
शेर्पा माघ १६ गते रातको १२ बजे पाथिभरा १ इकुवा बस्ने कालीमाया शेर्पाको घरमा प्रवेश गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार कालीमायाले प्रहरीलाई खबर गरिदिन्छु भनेपछि निमातेम्बाले कालीमायाको हत्या गरेका थिए ।
कालीमायाको हत्यापछि निमातेम्बाले उनीसँगै ११ वर्षीया छोरी मिङकिवा शेर्पा र भदैनी हटिया ७ की ५ वर्षीया ओंङगमु शेर्पा चिच्याउन थालेपछि घटनाको पोल खुल्ने डरले दुई बालिकाको समेत हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा प्रयोग भएको खुकुरी तथा सुनको गहना शेर्पाकै घरमा लुकाइराखेको अवस्थामा बरामद गरेको छ । कालीमायाका श्रीमान आङगनुर्बु शेर्पा तीन वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा छन् ।