काठमाण्डु, २६ पुस – एकीकृत माओवादीका केन्द्रीय सल्लाहकारहरुले पार्टी सुधार्न सम्पूर्ण शक्ति परिचालन गर्न नेतृत्वलाई सुझाव दिएका छन् ।
केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शुक्रबारदेखि सुरु भएको सल्लाहकार समिति बैठकमा धारणा राख्नेहरुले पार्टीका शीर्ष नेताहरुबीचको मतभेद रोक्न र मिलेर अघि बढ्न सुझाव दिएका हुन् ।
बैठकपछि सल्लाहकार समिति अध्यक्ष नन्दकुमार प्रसाईंले पार्टीले जनविश्वास गुमाएकाले त्यसलाई प्राप्त गर्न सबै शक्ति परिचालन गर्नुपर्ने बताए । संविधानसभा निर्वाचनबाट तेस्रो हुनुमा आन्तरिक र बाह्य दुबै कारण उत्तिकै जिम्मेवार रहेकोले त्यसलाई समाधान गर्नुपर्ने उनको भनाइ थियो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसहित शीर्ष नेताहरुको उपस्थितिमा भएको बैठकमा ७२ जना सल्लाहकारहरुमध्ये १२ जनाले धारणा राखेका छन् ।
बाँकी सदस्यहरुले शनिबार मध्याह्न साढे १२ पछि बस्ने बैठकमा धारणा राख्ने छन् ।