अभिषेक गिरीको नेटवर्कमाथि प्रहरीको प्रहार, मुकेश कार्की पक्राउ

काठमाण्डु टुडे २०८३ साउन ९ गते १३:३७ मा प्रकाशित

काठमाण्डु– आपराधिक पृष्ठभूमिका कांग्रेस विराटनगरका नेता अभिषेक गिरीको नेटवर्कमाथि अनुसन्धान अघि बढाउँदै मोरङ प्रहरीले विराटनगर महानगरपालिका–७ का ४६ वर्षीय मुकेश कार्कीलाई पक्राउ गरेको छ ।

गिरीविरुद्ध भइरहेको अनुसन्धानका क्रममा उनको सम्पर्कमा रहेका व्यक्ति र सहयोगी सञ्जालमाथि प्रहरीले निगरानी बढाएको थियो । सोही क्रममा कार्की प्रहरीको अनुसन्धानको दायरामा परेका हुन् ।

वडा प्रहरी कार्यालय विराटनगर र हाटखोलाको संयुक्त टोलीले कार्कीलाई शनिबार बिहान आफ्नै घरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार कार्की लामो समयदेखि अभिषेक गिरीको सम्पर्कमा रहेको खुलेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।

प्रहरीले कार्कीमाथि गिरीसँगको सम्बन्ध, आर्थिक कारोबार, विगतका गतिविधि तथा सम्भावित संलग्नताबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा कार्कीले गिरीको आर्थिक व्यवस्थापन, हिसाबकिताब तथा विभिन्न गतिविधिमा सहयोग गर्दै आएको हुन सक्ने प्रहरीको आशंका छ ।

मोरङ प्रहरीले गिरीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका अन्य व्यक्तिमाथि समेत अनुसन्धान अघि बढाएको छ। गिरीको प्रभाव प्रयोग गरी असुली, मिटरब्याज कारोबार, ठेक्कापट्टामा दबाब सिर्जना गर्ने, धम्की दिने तथा अन्य आर्थिक गतिविधिमा संलग्न भएको आशंका गरिएका व्यक्तिहरूमाथि निगरानी भइरहेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले गिरीसँग जोडिएका व्यक्ति, आर्थिक कारोबार र गतिविधिबारे अनुसन्धान जारी रहेको बताएका छन् ।

अनुसन्धानबाट प्रमाण भेटिए आवश्यक कानुनी प्रक्रिया अघि बढाइने उनले बताए ।

प्रहरीले मोरङ कारागारका कैदीबन्दीको रासन भत्ता तथा श्रम पारिश्रमिकको रकम संकलन गरी आर्थिक शोषण गरेको आरोपमा गत असार १३ गते विराटनगर–८ स्थित निवासबाट अभिषेक गिरीलाई पक्राउ गरेको थियो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us