घोडाबाट लडेका छौं, धुलो टकटक्याएर फेरि उठ्छौंः माधव नेपाल

काठमाण्डु टुडे २०८३ साउन ९ गते १४:१८ मा प्रकाशित

काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सह–संयोजक माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनले पछिल्लो समय चुनौती सामना गरे पनि त्यसबाट पाठ सिक्दै नयाँ ऊर्जा र संकल्पका साथ अघि बढ्नुपर्ने बताएका छन् ।
शनिबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपालले आन्दोलनमा उतारचढाव आउनु स्वाभाविक भएको उल्लेख गरे ।

उनले विगतमा समर्पित नेता तथा कार्यकर्ताको योगदानकै कारण कम्युनिष्ट आन्दोलन अघि बढ्न सफल भएको बताए ।

अहिले केही धक्का खेप्नुपरे पनि त्यसलाई कमजोरीका रूपमा नभई सुधारको अवसरका रूपमा लिनुपर्ने बताए ।

‘घोडाबाट लडेपछि शरीरको धुलो टकटक्याएर फेरि उठेजस्तै, कठिनाइबाट पाठ सिक्दै नयाँ ऊर्जा, नयाँ संकल्प र नयाँ उत्साहका साथ अघि बढ्नुपर्छ’ नेपालले भने ।

नेपालले कम्युनिष्ट आन्दोलनको इतिहाससँग जोडिएका दस्तावेज र अभिलेख संरक्षण गर्नुपर्नेमा जोड दिए ।

उनले जेनजी आन्दोलनका क्रममा आफ्नो निवासमा भएको आगलागीबाट महत्वपूर्ण सामग्री नष्ट भएको उल्लेख गरे ।

आफूसँग सुरक्षित रहेका धेरै ऐतिहासिक सामग्री जले पनि परिवारका सदस्य र छिमेकीको सहयोगले केही अभिलेख जोगिएको उनले बताए ।

केही सामग्री आधा जलेको र केही पूर्ण रूपमा नष्ट भएको भए पनि बाँकी रहेका दस्तावेज अझै महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

नेपालले कम्युनिष्ट पार्टी स्थापनादेखि प्रतिबन्धित कालखण्डमा समेत आन्दोलनलाई जीवन्त राख्न नरबहादुर कर्माचार्यले खेलेको भूमिका महत्वपूर्ण रहेको स्मरण गरे ।

००६ सालमा स्थापना भएको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन कर्माचार्यको योगदान सधैं स्मरणीय रहने उल्लेख गर्दै नेपालले उनका विचार र योगदानबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us