
धनगढी–स्वास्थ्य अवस्था बिग्रिएपछि धनगढीमा अनशनरत डा. गोविन्द केसीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएको छ ।
चिकित्सकको सल्लाहमा अस्पताल लगिएका केसीलाई आइसियुमा राखेर उपचार भइरहेको छ ।
धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा सत्याग्रह बसेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिबार बिहान अस्पताल लगिएको हो ।
केसीका सहयोगी डा. अमृत जैसीका अनुसार केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि चिकित्सकहरूले आइसियुमा राखेर निगरानी गर्नुपर्ने बताएका थिए ।
उनका अनुसार ब्लड सुगर ४९ एमजीरडिएल र ब्लड प्रेसर ११०/६० छ ।
केसीको उपचारमा डा. गजेन्द्र दुवाल नेतृत्वको टोली संलग्न छ ।
दुवालका अनुसार केसीको रक्तचापमा उतारचढाव देखिएको छ भने मांसपेशी बाउँडिने र बोल्न असहज हुनेजस्ता समस्या देखिएका छन् ।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष र दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा गरिएका नियुक्ति खारेजीको माग राखेर अनशन बस्न केसी धनगढी पुगेका थिए ।
यसअघि शुक्रबार धर्मशालालाई उक्त स्थानमा अनशन बस्न नमिल्ने भन्दै ठाउँ छाड्न केसीलाई पत्र थमाएको थियो ।
यसैबीच सरकारले डा. केसीको माग सम्बोधन गर्ने बचन दिएको छ ।
आफूलाई शुक्रबार सरकारका प्रवक्तासमेत रहेका शिक्षा र खेलकुदमन्त्री सष्मित पोखरेलले टेलिफोन गरी समस्या समाधानका लागि तयार रहेको प्रतिबद्धता जनाएको डा. केसीका सहयोगी डा. जैसीले बताएका छन् ।