धनकुटा– प्रहरीले धनकुटाबाट ७१ किलोभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका–२ गैरीगाउँका ३१ वर्षीय शिखर लिम्बू र सोही गाउँपालिका–३ मादेनका ३२ वर्षीय मदन याखा छन् ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले सवारी जाँचका क्रममा साँगुरीगढी गाउँपालिका–२ स्थित मान्दावा टोलबाट को२ह१२५ नम्बरको अटोमा राखेर लाँदै गरिएको अवस्थामा शुक्रबार राति उक्त गाँजा बरामद गरेको हो ।
पक्राउ परेका लिम्बू अटो चालक हुन् भने याखाले ओसारपसारमा सहयोग गरेको आशंका प्रहरीको छ ।
याखालाई अटोको पछाडि प्र १–०४–००१ प ४७९१ नम्बरको मोटरसाइकलमा सुरक्षा दिँदै आएको अवस्थामा नियन्त्रणमा लिइएको भनाइ प्रहरीको छ ।
धनकुटा प्रहरी प्रवक्ता डिएसपी हेमन्त भण्डारी क्षेत्रीका गाँजासहित ओसारपसारमा प्रयोग भएको अटो, पल्सर मोटरसाइकल र दुई मोबाइल नियन्त्रणमा लिइएको बताए ।
पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए ।