जहाँ आँसु झारे, त्यही मैदानमा इतिहास लेख्ने लक्ष्यमा मेसी

काठमाण्डु टुडे २०८३ साउन ३ गते १४:२८ मा प्रकाशित

काठमाण्डू, ३ साउन– अर्जेन्टिनाका कप्तान लियोनल मेसी १० वर्षअघि आफ्नो फुटबल जीवनकै सबैभन्दा पीडादायी क्षणको साक्षी बनेको मैदानमा फेरि उत्रिने भएका छन ।

अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा नेपाली समयानुसार आज मध्यरातमा हुने विश्वकप फाइनल खेलमा अर्जेन्टिना स्पेन भिड्दै छन । मेसीका लागि यो केवल विश्वकप उपाधिको लडाइँ मात्र नभई विगतको घाउलाई विजयमा बदल्ने अवसर समेत हुने छ ।

यही मैदानमा सन् २०१६ को कोपा अमेरिका सेन्टेनारियो फाइनलमा अर्जेन्टिना चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो। त्यस खेलमा मेसीले आफ्नो पेनाल्टी गुमाएका थिए र चिली च्याम्पियन बन्न सफल भएको थियो । पराजयपछि मेसी प्रतिस्थापन बेन्चमा बसेर अनियन्त्रित रूपमा रोएको दृश्य विश्वभर प्रसारित भएको थियो । खेलपछि भावुक बनेका फुटबलका बादशाह मेसीले राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गर्दै भनेका थिए, ‘राष्ट्रिय टोलीसँग मेरो यात्रा यहीँ समाप्त भयो। मैले धेरै प्रयास गरें।’ उनको यो अभिव्यक्तिले अर्जेन्टिनासहित विश्व फुटबलमा ठूलो तरंग सिर्जना गरेको थियो ।

मेसीको सन्यास घोषणापछि अर्जेन्टिनाभर उनलाई निर्णय फिर्ता लिन आग्रह गर्ने अभियान चलेको थियो। त्यतिबेला १५ वर्षीय एक किशोरले सामाजिक सञ्जालमार्फत मेसीलाई खुला पत्र लेखेका थिए । ती किशोर अहिले अर्जेन्टिनाका प्रमुख मिडफिल्डर एन्जो फर्नान्डेज हुन् । उनले लेखेका थिए, ‘तपाईं जे गर्न चाहनुहुन्छ गर्नुहोस्, लियो । तर कृपया टोली नछोड्नुहोस् । रमाउनका लागि खेलिरहनुहोस् ।

मानिसहरूले तपाईंबाट त्यो खुसी गुमाएका छन् ।’ त्यो भावुक सन्देश अहिले फेरि सामाजिक सञ्जालमा भाइरल बनेको छ। इन्टरनेटमार्फत आफ्ना आदर्शलाई टोली नछोड्न आग्रह गर्ने एन्जो आज विश्वकप फाइनलमा मेसीसँगै मैदानमा उभिनेछन् । १० वर्षपछि मेसी फेरि त्यही मैदानमा फर्किएका छन्, तर यसपटक आँसु बगाउन होइन, इतिहास रच्नलान त ? अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीको टोली कठिन चुनौती पार गर्दै फाइनलमा पुगेको छ र उपाधि जित्ने आत्मविश्वासमा छ । स्पेन मेसीका लागि परिचित प्रतिद्वन्द्वी हो ।

बार्सिलोनामा लामो समय बिताएका उनले स्पेनी फुटबललाई नजिकबाट बुझेका छन्। त्यसैले यो फाइनललाई धेरै विश्लेषकहरूले एउटा युगको उत्कृष्ट समापनका रूपमा हेरिरहेका छन् ।

यदि अर्जेन्टिनाले उपाधि जित्न सफल भयो भने, मेटलाइफ स्टेडियम मेसीका लागि केवल आँसुको मैदान होइन, जीवनकै सबैभन्दा ठूलो सफलताको साक्षी बनेर इतिहासमा अंकित समेत हुने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us