चीन र रुसले इरानलाई सघाए गम्भीर परिणम भोग्नुपर्ने ट्रम्पको चेतावनी

काठमाण्डु टुडे २०८३ साउन ९ गते १३:१८ मा प्रकाशित

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुस इरानसँग युद्धमा प्रत्यक्ष रूपमा संलग्न हुने आफूलाई नलागेको बताएका छन् । तर, दुवै देशले द्वन्द्वमा हस्तक्षेप गरे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

ट्रम्पले शुक्रबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत हालै बेइजिङमा भएको भेटमा चिनियाँ राष्ट्रपति सी जिनपिङले कुनै पनि अवस्थामा इरानलाई हतियार उपलब्ध नगराउने आश्वासन दिएको दाबी गरेका छन् । उनका अनुसार यो प्रतिबन्ध चिनियाँ कम्पनीहरूमा समेत लागू हुनेछ । ट्रम्पले आफूलाई सी जिनपिmङमाथि विश्वास रहेको बताए ।

ट्रम्पका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि इरानलाई हतियार नबेच्ने बताएका छन् ।
यसैबीच, चीनका विदेशमन्त्री वाङ यीले इरानी विदेशमन्त्री अब्बास अराघचीसँगको भेटमा इरानको सार्वभौमसत्ता, सुरक्षा र राष्ट्रिय सम्मानको रक्षा गर्ने प्रयासलाई समर्थन गर्ने बताएका छन् । उनले पश्चिम एसियामा बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

अराघचीले पनि इरान वार्ताका लागि तयार रहेको तर द्वन्द्व थप विस्तार गर्न नचाहेको बताएका छन् ।

इरानसँग वार्ता खुला राख्ने ट्रम्पको भनाइ
ट्रम्पले अमेरिका र इरानबीच कुराकानी जारी रहेको उल्लेख गर्दै इरान वार्ताका लागि इच्छुक भए आफू सुन्न तयार रहेको बताएका छन् । तर, इरानलाई परमाणु हतियार विकास गर्न भने अनुमति नदिने उनले स्पष्ट पारे ।

उनले अमेरिकी सैन्य कारबाहीका कारण इरानको सैन्य क्षमतामा ठूलो क्षति पुगेको दाबी गरेका छन् ।

युक्रेन युद्धका बीच पनि रुसी राष्ट्रपति पुटिनसँग आफ्नो संवाद जारी रहेको ट्रम्पले बताएका छन् । उनले अमेरिका आफैंले युक्रेनलाई प्रत्यक्ष हतियार बिक्री नगर्ने, तर नेटो सदस्य राष्ट्रहरूलाई हतियार बिक्री गर्ने गरेको बताए।

ट्रम्पका अनुसार ती हतियारको पूर्ण मूल्य नेटो देशहरूले तिर्नेछन् र त्यसपछि ती हतियार कहाँ र कसरी पठाइन्छ भन्ने विषयमा आफूलाई विस्तृत जानकारी नहुने बताएका छन् ।

ट्रम्पको सुरक्षामा सतर्कता बढाइयो
न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार टर्कीमा भएको नेटो सम्मेलनका क्रममा ट्रम्पलाई इरान समर्थित समूहबाट सम्भावित आक्रमणको सूचना दिइएको थियो । सुरक्षाको कारण देखाउँदै अमेरिकी सिक्रेट सर्भिसले उनलाई फर्किने क्रममा विमान परिवर्तन गर्न सुझाव दिएको बताइएको छ ।

नेतन्याहु ट्रम्पसँग भेटवार्ताका लागि अमेरिका जाँदै
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु सोमबार अमेरिका जाने भएका छन् । इरानसँग युद्ध सुरु भएपछि ट्रम्पसँग उनको यो पहिलो भेट हुनेछ ।

यसैबीच, इरान–अमेरिका तनाव बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि उकालो लागेको छ। मे महिनापछि पहिलो पटक ब्रेन्ट क्रुडको मूल्य १०० डलर प्रतिब्यारेलभन्दा माथि पुगेको बताइएको छ ।

इरानद्वारा अमेरिकी सैन्य अखडामा ड्रोन हमला
इरानले शुक्रबार कुवेतमा रहेका अमेरिकी सैन्य अखडा क्याम्प अरिफजान, क्याम्प दोहा र क्याम्प अदैरीलाई लक्षित गरी ड्रोन हमला गरेको बताइएको छ ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले इरान अमेरिकाको दबाबसामु नझुक्ने र धम्की स्वीकार नगर्ने बताएका छन्। उनले किर्गिस्तानमा भएको सांघाई सहयोग संगठनका विदेशमन्त्रीहरूको बैठकमा यस्तो धारणा राखेका हुन् ।

अमेरिकी केन्द्रीय कमाण्डले पश्चिम एसियामा सैन्य अभ्यासका क्रममा अमेरिकी सैनिकहरूले एम१४२ हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टमलाई केसी–१३०जे सुपर हरक्युलिस विमानमा लोड गरिरहेको तस्बिर सार्वजनिक गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us