काठमाडौं- एटलान्टामा भएको सेमिफाइनलमा एक गोलले पछि परेको अवस्थाबाट अन्तिम समयमा अविश्वसनीय पुनरागमन गर्दै साविक विजेता अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले पराजित गरेको छ ।
यो जितसँगै अर्जेन्टिना लगातार दोस्रोपटक फिफा विश्वकपको फाइनलमा पुगेको छ ।
सुपर सब लाउटारो मार्टिनेजले इन्जुरी समयमा निर्णायक गोल गरेपछि अर्जेन्टिनाले खेल आफ्नो पक्षमा पार्यो ।
कप्तान लियोनल मेसीले दुवै गोलका लागि असिस्ट गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले । अब अर्जेन्टिनाले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो हाफमा दुवै टोलीले सतर्क खेल प्रस्तुत गरेका कारण कुनै पनि टोलीले गोल गर्न सकेन । दुवै पक्षले केही अवसर बनाए पनि गोलरक्षक र रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गरेपछि खेल गोलरहित बराबरीमा विश्राममा पुगेको थियो ।
दोस्रो हाफको ५५औँ मिनेटमा मोर्गन रोजर्सको क्रसलाई एन्थोनी गोर्डनले सहज रूपमा जाली चुमाउँदै इंग्ल्यान्डलाई १–० को अग्रता दिलाए । त्यसपछि इंग्ल्यान्डले रक्षात्मक खेल रोज्दै अग्रता जोगाउने रणनीति अपनायो ।
तर अर्जेन्टिनाले बलमाथिको नियन्त्रण कायम राख्दै लगातार आक्रमण जारी राख्यो । त्यसको प्रतिफल ८५औँ मिनेटमा मिल्यो । मेसीको पासमा एन्जो फर्नान्डेजले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि खेल बराबरीमा आयो ।
बराबरीपछि खेलको लय पूर्ण रूपमा अर्जेन्टिनातर्फ मोडियो ।
दोस्रो हाफमा थपिएको नौ मिनेट अतिरिक्त समयको दोस्रो मिनेटमा मेसीकै अर्को सटीक पासमा वैकल्पिक खेलाडी लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए । त्यसपछि अर्जेन्टिनाले बाँकी समय संयमित रूपमा खेल्दै जित सुनिश्चित गर्यो ।
अर्जेन्टिनाले यसअघि प्रिक्वार्टरफाइनलमा पनि दुई गोलले पछि परेको अवस्थाबाट अन्तिम समयमा तीन गोल गर्दै पुनरागमन गरेको थियो। सेमिफाइनलमा पनि त्यही लय दोहोर्याउँदै उसले लगातार दोस्रो विश्वकप फाइनलको यात्रा तय गरेको छ ।
तीन पटकको विश्वविजेता अर्जेन्टिना अब सातौँ पटक विश्वकपको फाइनल खेल्नेछ । उसले सन् १९७८, १९८६ र २०२२ मा उपाधि जितेको थियो भने १९३०, १९९० र २०१४ मा उपविजेतामा सीमित बनेको थियो ।
यता, सन् १९६६ को विश्वविजेता इंग्ल्यान्ड भने फेरि सेमिफाइनलबाटै घर फर्किएको छ । यसअघि पनि उसले १९९० र २०१८ मा अन्तिम चारबाट अघि बढ्न सकेको थिएन ।
खेलभर अर्जेन्टिनाले ६४ प्रतिशत बल पोजेसन आफ्नो पक्षमा राख्यो । उसले पाँच पटक लक्ष्यमा प्रहार गर्दा इंग्ल्यान्डले दुई पटक मात्र सट अन टार्गेट गर्न सक्यो । दुवै टोलीबाट कुल २६ वटा फाउल भएका थिए ।