रास्वपा केन्द्रीय सदस्य उम्मेदवारको प्रारम्भिक सूची नै प्रकाशन हुन सकेन, महाधिवेशन अवधि थप लम्बिने

काठमाण्डु टुडे २०८३ असार १० गते १२:४३ मा प्रकाशित

काठमाण्डू, १० असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को  महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा मतदान प्रक्रिया झनै लम्बिने भएको छ । मतदानको समय बिहान ९ बजेदेखि हुने बताइएको थियो ।

तर, हालसम्म उम्मेदवारको प्रारम्भिक नामावली पनि सार्वजनिक गरिएको छैन । निर्वाचन आयोगले बिहान साढे १० बजे प्रारम्भिक नामावली निकाल्ने जानकारी गराएको थियो । उम्मेदवारको अन्तिम सूची प्रकाशित गरेसँगै निर्वाचन आयोगले उम्मेदवारको फोटो सहितको अन्तिम सूची विद्युतीय मेसिनमा अपलोड गर्नका लागि उपलब्ध गराउनु पर्ने हुन्छ ।

निर्वाचन आयोगका अनुसार करिब चार सय उम्मेदवारको मनोनयन दर्ता गरेका छन्। आयोगले निश्चित संख्या भने हालसम्म पनि सार्वजनिक गर्न सकेको छैन ।

सूची प्राप्त भइसकेपछि मेसिनमा अपलोड गर्न ४ देखि ५ घण्टा लाग्ने राम लक्ष्मण ई भोटिङ मेसिनका संस्थापक राम रिमालले जानकारी दिए ।

रिमालका अनुसार एक व्यक्तिले मतदान गर्न १५ देखि १८ मिनेट लाग्नेछ । हालसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन नसक्दा रास्वपा महाधिवेशन अवधि थप लम्बिने भएको छ । मंगलबारसम्म तोकिएको महाधिवेशनको अवधि एक दिन लम्बिइसकेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us