रास्वपा महाधिवेशनः मतदान मेसिनबाट, प्रचार कागजमै

काठमाण्डु टुडे २०८३ असार १० गते १२:२२ मा प्रकाशित

काठमाण्डू, १० असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि चुनावको अन्तिम तयारी भइरहेको छ । उम्मेदवारहरु अहिले चुनाव प्रचारमा व्यस्त छन् ।

गएराति अबेरसम्म चलेको मनोनयन दर्ता प्रक्रियामा करिब ४०० जनाले मनोनयन गराएका थिए । रास्वपाको विधान अनुसार ९९ केन्द्रीय सदस्य निर्वाचनबाट चुनिनेछन् भने ५१ केन्द्रीय सदस्य सभापतिबाट मनोननीत हुनेछन् । सभापति पदमा रवि लामिछानेको मात्र उम्मेदवारी दर्ता भएकाले उनी निर्विरोध निर्वाचित भइसकेका छन् ।

केन्द्रीय सदस्य चयन भइसकेपछि १९ सदस्यीय पदाधिकारीको निर्वाचन हुने रास्वपा विधानमा उल्लेख छ । अहिले केन्द्रीय सदस्यका उम्मेदवार र उनीहरुका समर्थकहरु प्रचार सामग्रीहरु बोकेर भोट मागिरहेका छन् ।

निर्वाचन स्थल वरपर कागजी प्रचार सामग्रीहरु छरपस्ट देखिन्छन् । रास्वपाको पहिलो महाधिवेशन असार ७ गतेदेखि चितवनमा जारी छ ।

९ गते नै महाधिवेशन सक्ने भनिए पनि प्राविधिक समस्याका कारण प्रतिनिधि टुंगो लगाउन ढिलाइ हुँदा महाधिवेशन लम्बिएको रास्वपा नेताहरुको भनाइ छ ।

रास्वपा महाधिवेशनमा करिब ४ हजार प्रतिनिधिहरु छन् । उनीहरुले इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान गर्ने छन् । भोटिङका लागि करिब ८० वटा मेसिन तयारी अवस्थामा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us