काठमाण्डू, ११ असोज– जेनजी आन्दोलनका क्रममा ज्यान आहुती दिने सहिदहरूको बलिदानलाई सम्झँदै तयार गरिएको गीत ‘पिरै नमानी’ सार्वजनिक गरिएको छ।
२०८२ भाद्र २३ र २४ गते जेनजी युवाद्वारा सञ्चालन गरिएको विरोध आन्दोलनमा जीवन समर्पण गर्ने सहिदहरूलाई श्रद्धाञ्जलि स्वरूप गीत निर्माण गरिएको हो।
गीतका शब्द पदम बस्नेत र शितल जि एमले संयुक्त रूपमा लेखेका हुन् भने संगीत तथा स्वर पनि शितल जि एमकै रहेको छ। संगीत संयोजनमा राजु खड्काको साथ रहेको यस गीतलाई दिपक बिसीले रेकर्ड गरेका हुन्। त्यस्तै गीतको मिक्सिङ र मास्टरिङको जिम्मेवारी दिका गुरुङले सम्हालेका छन् ।
मर्मस्पर्शी शब्द र संगीतले भरिएको यस गीतले आन्दोलनमा सहिद भएकाहरूको साहस, बलिदान र समर्पणलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। गीतमा आन्दोलनका कारण उत्पन्न पीडा, न्यायको खोजी र परिवर्तनको चाहनालाई कलात्मक ढङ्गले उजागर गरिएको छ ।
‘पिरै नमानी’को भिडियो Shital GM को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा दर्शक र श्रोतालगायत युवाहरूबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ।