पहिले मान्छे विदेश गए भनेर खपिनसक्नु थियो, अहिले त्योभन्दा बढी जाँदा चुपचाप छन्: ओली

काठमाण्डु टुडे २०८३ साउन ३ गते १७:०१ मा प्रकाशित

काठमाण्डू, ३ साउन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले विदेश जाने युवाको संख्या पहिलेभन्दा बढेको भएपनि कोही नबोलेको भन्दै आपत्ति जनाएका छन ।

आज (आइतबार) एमालेका सांसदहरूका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले भने,‘विदेश मान्छे पठाइए, विदेश गए भनेर उधुम हल्ला थियो, पोहोर साल यतिबेला खपिनसक्नु हल्ला थियो, ‘पोहोर साल यतिबेला भन्दा अहिले यतिबेला संख्या बढी गएको छ बाहिर । चुपचाप छ ।’

अहिले बाहिर जाने युवाहरूको अधिकार हो भन्ने व्याख्या अगाडि सारिरहेको पनि ओलीले बताए । ओलीले भने,‘पोहोर स्वाभाविक थिएन, अहिले स्वाभाविक । कुरो र कुलो जता पनि जान्छ भनेजस्तै उनीहरूले कुरा बङ्ग्याउँछन्, जनताको हित विपरीत, आफ्नो संकीर्ण हितका लागि प्रयोग गर्छन् ।’

बङ्ग्याएको कुरा सच्याउनुपर्ने र सही कुरा जनतासमक्ष पुर्याउने माध्यम संसद् रहेको उनले बताए । कानुन बनाउने संख्या आफूसँग नभएपनि जनताको हितका कुरा उठाउने ठाउँ पनि संसद् रहेको पनि ओलीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us