काठमाण्डू, ३ साउन– कांग्रेसका सभापति गगन थापाले पासपोर्ट ठेक्कामा सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई तर्साएर पंगु बनाएको आरोप लगाएका छन ।
आज (आइतबार) पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन । सभापति थापाले विगतका सरकारले आफ्ना मान्छे नियुक्त गरेर अख्तियारलाई कमजोर बनाएको भएकाले सरकारले तर्साएर निष्क्रिय बनाउने प्रयास गरेको समेत बताए ।
उनले भने, ‘दलको आदेश मान्ने वा राजनीतिक दबाबमा चल्ने अख्तियार दुवै अवस्थामा प्रभावकारी हुन सक्दैन । तर, किन अख्तियार पंगु भयो त रु पछिल्लो समयमा पासपोर्टको काण्डमा सुनिराख्नुभएको छ ।
योभन्दा पहिलाको सरकारहरूले आफ्नो मान्छे बनाएर अख्तियारलाई पंगु बनायो, अहिलेको सरकारले अख्तियारलाई तर्साएर पंगु बनाउने भयो । हामीले स्वतन्त्र संवैधानिक एउटा अङ्ग खोजेको हो ।’
उनले भ्रष्टाचारका फाइल खोल्नेभन्दा पनि कुनै पनि सरकारले फाइल बन्द गर्न नसक्ने प्रणाली निर्माण गर्नुपर्ने आवश्यकता रहेको समेत बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र र प्रभावकारी संवैधानिक निकाय बन्नुपर्ने भन्दै त्यसका लागि नियुक्ति प्रक्रियामै सुधार आवश्यक रहेको समेत बताएका छन ।
संवैधानिक परिषद्बाट हुने नियुक्तिलाई निष्पक्ष र विश्वासयोग्य बनाउन संविधान संशोधनबारे छलफल गर्नुपर्ने भन्दै थापाले विगतमा संवैधानिक निकायहरूमा भागबन्डा भएको अनुभव रहेको र अहिले पनि कार्यपालिका प्रभाव बढ्ने जोखिम देखिएको भन्दै सुशासनका दृष्टिले संविधानमा आवश्यक संशोधन गर्नुपर्ने समेत बताएका छन ।
लोकतन्त्र, समावेशिता र नागरिकका मौलिक अधिकारमा कुनै सम्झौता गर्न नसकिने बताए । आफू विगतमा प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थाको पक्षमा रहे पनि त्यसमा कार्यपालिका र संसद् फरक दलको नियन्त्रणमा हुँदा कानुन र बजेट पारित हुन नसक्ने जस्ता चुनौती देखिने भएकाले सबै पक्षको गम्भीर अध्ययन आवश्यक रहेको उनको भनाइ छ ।
थापाले संविधानले सुनिश्चित गरेका मौलिक अधिकार, विशेषगरी आवासको हक र भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा राज्यको ध्यान केन्द्रित हुनुपर्ने पनि बताएका छन ।