काठमाण्डू, ४ असोज– बलिउड अभिनेत्री तनुश्री दत्ताले चर्चित रियालिटी शो ‘बिग बोस’ मा सहभागी हुनका लागि आएको १ करोड ६५ लाख भारतीय रुपैयाँको प्रस्ताव सझै अस्वीकार गरेकी छन ।
पछिल्लो पटक एक अन्तर्वार्तामा उनले आफूलाई विगत ११ वर्षदेखि बिग बोस शोमा प्रस्ताव आइरहेको भए पनि यस पटकको प्रस्ताव अहिलेसम्मको ठूलो बजेटको रहेको खुलाएकी छन ।
सञ्चार माध्यमसँगको कुराकानीमा तनुश्रीले आफ्नो व्यक्तिगत गोपनीयता र मर्यादाको सुरक्षाको लागि पनि उक्त शोमा नगएको दाबी गरिन् । उनले उक्त शोमा पुरुष र महिला एउटै कोठामा बस्नु पर्ने र उनीहरूमा असमझदारी हुने हुँदा आफू त्यसरी बस्न नसक्ने बताएकी छिन् ।
परिवारसँग समेत बस्न नसक्ने हुँदा त्यस्ता रियालिटी शोमा गएर पुरुषसँग एकसाथ बस्न नसक्ने र आफू कसैको लागि सस्तो नभएको बताएकी छिन् ।
हालै आफ्नो रोएको भिडियोबाट चर्चामा आएकी तनुश्रीले सन् २०१८ को ‘मी टु’ आन्दोलनपछि आफूलाई आफ्नै घरमा दुर्व्यवहार गरिएको दाबीसमेत गरेकी थिइन् । उनले जुलाईमा इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै प्रहरीलाई फोन गरेको र आफू विगत ४–५ वर्षदेखि मानसिक र शारीरिक दुर्व्यवहारको शिकार भएको बताएकी थिइन् ।