काठमाण्डू, २१ साउन– गुन्डाको नाईकेको रुपमा बजारमा आफ्नो पहिचान बनाएका मिलन गुरुङ उर्फ चक्रे मिलनविरुद्ध भक्तपुर प्रहरीले पनि अनुसन्धान गर्ने तयारी गरेको छ ।
एक वर्षअघिको एक ज्यान मार्ने उद्योगको कसुरको मुद्दामा चक्रेमाथि भक्तपुर प्रहरीले अनुसन्धान गर्न लागेको हो । चक्रेसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै प्रहरी वृत्त थिमिमा जाहेरी परेको थियो ।
आफ्नो भतिजो मनिष रायमाझीलाई १० भदौ २०८१ मा सानोठिमीस्थित दिव्यश्जरीमा रहेो बड्डाको तावा रेस्टुरेन्टमा आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए । सर्लाहीको हरिवन नगरपालिका–४ घर भएका २५ वर्षीय अजित खवाससहितका व्यक्तिले आक्रमण गरको भन्दै जाहेरी परेको थियो । जहाँ चक्रेको समेत नाम उल्लेख थियो ।
जाहेरी पछि प्रहरीले खवासलाई पक्राउ गरेर अनुसन्धान गरी मुद्दा चलाएको थियो । तर चक्रेको हकमा भने वतन नखुलेको भन्दै प्रतिवादी बनाइएको थिएन । त्यतिबेला रायमाझीको दुवै कोखमा खुकुरी प्रहारी गरी घाइते बनाइएको बताइएको थियो ।
सोही मुद्दामा चक्रेमाथि अनुसन्धान हुने परिसर झक्तपुरका प्रवक्ता तथा डीएसपी ढुण्डिराज न्यैपानेले जानकारी दिए । चक्रे अहिले भने जिल्ला प्रहरी परिसर काठमाण्डूको हिरासतमा रहेका छन । बिहीबार राति प्रहरीले उनलाई पक्राउ गरेको थियो । महाराजगञ्जस्थित होटल साम्बालामा बर्थडेको पार्टी चलिरहेका बेला उनीसहित ४७ जना पक्राउ परेका थिए ।