माओवादी आन्दोलन: विकास, समृद्धि र सुशासन मार्फत सामाजिक न्यायको यात्रा आरसी अधिकारी नेपाली समाजमा गहिरो प्रभाव पारेको माओवादी आन्दोलनले सामन्तवादी निरंकुशता र राजतन्त्रात्मक व्यवस्था विरुद्ध प्रत्यक्ष विद्रोहको नेतृत्व गरेको थियो । यस आन्दोलनले वर्गीय, जातीय, लैङ्गिक, क्षेत्रीय तथा उत्पीडित समुदायको आवाजलाई सशक्त जनआन्दोलन र मुक्तिको शृङ्खलामा रूपान्तरण गर्यो । माओवादी विचार, योजना र मार्गदर्शनले वर्गसंघर्षमार्फत उत्पीडित पक्षको नेतृत्व गर्दै सामाजिक रूपान्तरणको मार्ग प्रशस्त गर्यो । २०७२ सालमा जारी भएको नेपालको संविधानले संघीय संरचना, प्रदेश र स्थानीय तहसहितको राज्य पुनर्संरचनालाई संस्थागत गर्यो । यसले माओवादी आन्दोलनका आधारभूत एजेन्डाहरूलाई कानुनी र संस्थागत ढाँचामा समेट्यो, जसमा विकास, समृद्धि र सुशासनको जीवन्त अवधारणा पनि समावेश छ ।
माओवादी आन्दोलनको संघर्षमा हजारौं युवा र जनताको बलिदान, त्याग र समर्पण थियो । यही भावना, मर्म र विरासतबाट विकास, समृद्धि र सामाजिक न्याय प्रदान गर्दै वर्गीय जनताको जीवनस्तर सुधार्ने काम गरियो । यसले माओवादी पार्टी र नेतृत्वप्रति सकारात्मक धारणा निर्माण गर्यो । हालसम्म चारपटक संघीय संसद्, प्रदेशसभा र १२३ वटा स्थानीय तहमा माओवादीहरूले नेतृत्व गरिसकेका छन् र उनीहरूले गर्ने काम र मोडेलले स्पष्ट सन्देश दिएका छन् । विकास, समृद्धि र सुशासनको सिद्धान्तमा आधारित भएर माओवादी नेतृत्वले संघ, प्रदेश र स्थानीय तहमा जनताको सेवामा समर्पित हुँदै समस्या समाधान गर्यो । पुनर्संरचित राज्य प्रणालीले समावेशी र समानुपातिक प्रतिनिधित्वका साथै दलित र महिला अधिकार सुनिश्चित गर्यो । यसले जनतासँग प्रत्यक्ष सम्बन्ध कायम गर्दै आर्थिक र सामाजिक परिवर्तनहरू ल्याउन सघाउ पुर्यायो, जसले गर्दा स्थानीय सरकार जनताको घरदैलोमा पुगेको अनुभूति भयो । समावेशी संविधानको दायरामा रहँदै १८ महिनाको प्रचण्ड सरकारले सुशासनमा उल्लेखनीय काम गर्यो । त्यसैगरी, स्थानीय सरकारले तथा जनताको समस्या समाधानमा पनि तत्परता देखायो ।
भरतपुर महानगरपालिकामा महिला नेतृ रेनु दाहालको नेतृत्वमा विकास र सुशासनको उत्कृष्ट उदाहरण स्थापित भएको छ । नेपालको मध्यभागमा अवस्थित भरतपुर—एक बहुसांस्कृतिक सहर—आधारभूत पूर्वाधारदेखि कृषि, पशुपालन, वन, पर्यटन र सूचना प्रविधि क्षेत्रमा समृद्धिको मार्गमा अगाडि बढेको छ । भरतपुरको विकास: माओवादी नेतृत्वको विशेष सफलताहरू भरतपुरमा माओवादी र नेपाली कांग्रेसको गठबन्धनपछि स्थानीय सरकारले नेतृत्व सम्हालेपछि राजनीतिक मनोविज्ञानमा ठूलो परिवर्तन आयो । भरतपुरमा सडक, पानी, बिजुली, क्याम्पस, विद्यालय, स्वास्थ्य चौकी, बसपार्क, हवाई क्षेत्र, कृषि र पर्यटन क्षेत्रमा द्रुत विकास भएको छ । पुलचोकदेखि मेघौलीसम्मको ६ लेन सडक, रिङरोड, लिङ्क रोड लगायतका आवश्यक पूर्वाधारहरूले भरतपुरलाई आधुनिक सहरका रूपमा उभ्याएको छ । कृषि क्षेत्रमा शीत भण्डार, तरकारी मण्डी र प्रदर्शनी केन्द्र निर्माण गरियो। कृषकलाई कृषि औजार, मल, बीउ र सिँचाइ सुविधा (विशेष गरी नारायणी लिफ्ट सिँचाइको सञ्चालन) उपलब्ध गराइयो । पशुपालनमा दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर तीन रुपैयाँ अनुदान प्रदान गरी उनीहरूलाई आत्मनिर्भर बनाउने प्रयास गरियो । वन संरक्षण र पारदर्शी प्रशासनमार्फत जनताको हितमा वन्यजन्तु र प्राकृतिक स्रोतको संरक्षण भयो। पर्यटन क्षेत्रले पनि राम्रो प्रगति गरेको छ ।
भरतपुरमा कृषि, पशु, वन तथा पर्यटन क्षेत्रलाई संयोजन गर्दै रोजगारी सिर्जना र व्यावसायिकतामा जोड दिइयो। यसले समाजवाद उन्मुख विकासको अभ्यास भैरहेको संकेत गर्छ । सूचना प्रविधि क्षेत्रमा डिजिटल कार्यालयहरू, निःशुल्क वाइफाइ र सीसीटीभी क्यामेरा जस्ता सुविधाहरू सञ्चालनमा आएका छन् । सार्वजनिक शिक्षा क्षेत्रमा विद्यालय भवन निर्माण, शिक्षक उपलब्धता र आकर्षक शिक्षण वातावरणले उल्लेख्य सुधार ल्याएको छ । स्वास्थ्य क्षेत्रमा सुविधा विस्तार भयो भने रोजगारी र सुरक्षालाई पनि प्राथमिकतामा राखिएको छ । दिगो विकासका लागि नेतृत्व रेनु दाहालले सूक्ष्म योजना, टिम कार्यन्वयन र समावेशी नीतिमार्फत भरतपुर महानगरपालिकाको विकासलाई गति दिइरहेकी छिन् । भ्रष्टाचारमुक्त प्रशासन, जनस्तरमा पहुँच र तत्काल समस्या समाधानको प्रतिबद्धताले भरतपुरको विकासलाई नयाँ आयाम दिएको छ। समाजका सबै वर्ग—दलित, महिला, आदिवासी र पिछडिएका समुदायहरू—समावेशी विकासका साक्षी बनेका छन् । भरतपुरको विकास नेपालका अन्य सहर र स्थानीय तहका लागि प्रेरणाको स्रोत बनेको छ ।
नेपाली जनताको विजयी संघर्ष, समर्पण र नेतृत्वले भरतपुरलाई एक सुन्दर, समृद्ध र सुव्यवस्थित महानगरमा रूपान्तरण गरेको छ। समग्रमा, माओवादी आन्दोलनले राजनीतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक र साँस्कृतिक क्षेत्रमा पनि सुनौलो भविष्यका लागि आधार तयार गरेको छ । विकास, समृद्धि र सुशासनको माध्यमबाट सामाजिक न्याय हासिल गरिने यात्रामा भरतपुर महानगरपालिका एउटा प्रेरणादायी उदाहरण बनेको छ । जसले नेपालको संघीय संरचनामा आधारित समावेशी विकासको उज्ज्वल चित्र देखाउँछ ।
असल अभ्यासबाट सिक्ने र नयाँ अन्वेषण गर्ने दिशामा कम्तिमा माओवादीले नेतृत्व गरेका स्थानीय सरकारले अग्रसरता देखाउनुपर्छ । समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न पालिकाहरुले महत्वपूर्ण भूमिका खेल्न सक्छन । असल अभ्यास भएका स्थानीय सरकारबाट सिकौ, अनुशरण गरौ र आफनो मौलिकतामा आधारित विकास र समृद्धिको यात्रालाई अगाडि बढाऔ । त्यसैले माओवादी आन्दोलनको कारण, औचित्य, त्यसका उपलब्धी, सफलता वा असफलताबारे बुझ्न नेपाली समाज र राजनीतिक इतिहासको ध्ययन जरुरी छ । कुनै बेला नेपाली समाजमा ‘न्याय नपाए गोरखा जानु’ भन्ने प्रचलन थियो । अहिले हामी ढुक्कसँगले भन्न सक्ने भएका छौं कि विकासको मोडल हेर्ने भए रेणु दाहालले नेतृत्व गरेको भरतपुर महानगर जानु ।’
(अधिकारी माओवादी केन्द्र चितवनका संयोजक हुन्)