अभिनेता अनमोल केसी र चलचित्र फर्की फर्कीको सिंगो टिमविरुद्ध अदालतमा मुद्दा दायर

काठमाण्डु टुडे २०८२ असार ९ गते १८:०५ मा प्रकाशित

काठमाण्डू, ९ असार– साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको आरोपमा अभिनेता अनमोल केसीसहित ‘फर्की फर्की’ फिल्म निर्माण टिमविरुद्ध जिल्ला अदालत काठमाण्डूमा मुद्दा दायर गरेका छन् ।

श्रेष्ठले आज (सोमबार) वारेसमार्फत अदालतमा दिएको रिट निवेदनमा फिल्ममा आफूले प्रयोग गर्ने मोबाइल नम्बर अवैधानिक रूपमा समावेश गरिएको उल्लेख गरेका छन ।

यसबाट मानसिक तथा शारीरिक पीडा पुगेको भन्दै उनले कानुनी कारबाहीसहित उचित क्षतिपूर्तिको माग गरेका हुन । फिल्म ओटीटी प्लेटफर्म एमएसएम ओटीटीबाट पटकपटक आफ्नो नम्बर हटाउन अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएको उनले बताएका छन ।

उनले चलचित्र जाँच समितिलाई पनि यसबारे जानकारी गराएको तर कुनै कदम नचालिएको भन्दै निराशा व्यक्त गरेका छन । अदालतमा दायर रिटमा अभिनेता अनमोल केसी, निर्देशक सुयोग गुरुङ, निर्माता रोहित अधिकारी, चलचित्र जाँच समिति तथा एमएसएम ओटीटी प्लेटफर्म सञ्चालकहरूलाई विपक्षी बनाइएको छ ।

श्रेष्ठले सबै प्रतिवादीलाई विद्यमान कानूनअनुसार दण्ड दिन माग गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us