इरानमाथिको आक्रमण सफलः डोनाल्ड ट्रम्प

काठमाण्डु टुडे २०८२ असार ८ गते १४:२४ मा प्रकाशित

एजेन्सी–  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा गरिएका आक्रमण सफल भएको दाबी गरेका छन । साथै उनले इरानले शान्तिको मार्ग रोज्नुपर्ने पनि बताएका छन । इरानका तीन परमाणु केन्द्रमा बंकर बस्टर बम खसालेपछि देशबासीलाई सम्बोधन गर्दै ट्रम्पले भनेका छन्, ‘म संसारलाई जानकारी दिन चाहन्छु कि यी आक्रमणहरु सैन्य हिसाबले अत्यन्तै सफल भएका छन् ।’

ट्रम्पले ह्वाइट हाउसमा उपराष्ट्रपति जे.डी. भान्स, विदेशमन्त्री मार्को रुबियो र रक्षामन्त्री पीट हेगसेथलाई सँगै राखेर देशबासीलाई सम्बोधन गरेका थिए । उनले इरानलाई मध्यपूर्वको ‘गुण्डा’को संज्ञा समेत दिएका थिए । इरानका आणविक संवर्धन केन्द्रहरु पूर्णरुपमा ध्वस्त पारिएको दाबी गर्दै ट्रम्पले भनेका छन्, ‘मध्यपूर्वको गुण्डा इरानले अब शान्ति गर्नुपर्छ ।

यदि गरेन भने आगामी आक्रमणहरू अझ धेरै ठूला हुनेछन् ।’ अमेरिकाले शनिबार राति इरानका फोर्दो, नतान्ज र एस्फाहन परमाणु केन्द्रहरुमा आक्रमण गरेको थियो । आक्रमणमा जीबीयू–५७ भनिने बंकर बस्टर बम प्रयोग गरिएको थियो । ती बम बी–२ स्टेल्थ नामको लडाकु विमानले खसालेको थियो । जानकारहरुका अनुसार बंकर बस्टर बम जमिनको करिब ६० मिटर मुनि पुगेर विष्फोट हुने गर्दछ ।

यस्तो खालको बंकर बस्टर बम अमेरिकासँग मात्र भएको बताइन्छ । यसअघि इजरायलले मात्र इरानका आणविक केन्द्र र ठूला पूर्वाधारमा लक्षित गरी आक्रमण गरेको थियो । तर शनिबार राति अमेरिकाले पनि आक्रमण गरेपछि इरानविरुद्ध अमेरिका र इजरायलको मिलिभगत पुष्टि भएको छ । देशबासीको नाममा सम्बोधन गर्दै ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई बधाई समेत दिएका छन् ।

उनले भनेका छन्, ‘म प्रधानमन्त्री बीबी नेतन्याहुलाई धन्यवाद र बधाई दिन चाहन्छु । हामीले एक टिमको रुपमा काम गर्‍यौं, सम्भवतः अहिलेसम्मकै उत्कृष्ट टिमवर्क । इजरायलमाथिको भयावह खतरा हटाउने दिशामा हामी धेरै अगाडि बढेका छौं ।’ उनले थपे, ‘यो स्थिति अब सह्य छैन । अब या त शान्ति हुनेछ या इरानका लागि त्यस्तो दुर्भाग्य हुनेछ जुन हामीले हालसम्म देखेका छैनौं ।’

शनिबार रातिको लक्ष्य सबैभन्दा कठिन र सायद सबैभन्दा घातक पनि रहेको उनले बताएका छन् । इरान शान्तिको बाटोमा नआए अरु ठाउँमा पनि आक्रमण गर्ने चेतावनी ट्रम्पले दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us