टर्कीमा भूकम्पको शक्तिशाली झट्का

काठमाण्डु टुडे २०८२ जेठ २० गते १४:५० मा प्रकाशित

एजेन्सी– हिजो (सोमबार) राति टर्कीमा भूकम्पको शक्तिशाली झट्का महसुस गरीएको छ । विपद् व्यवस्थापन एजेन्सीका अनुसार भूमध्यसागरको तटीय शहर मारमारिसमा ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको बताइएको छ ।

भुकम्पको त्रासमा आतंकित भएर घरबाट भाग्ने प्रयास गर्दा कम्तिमा सात जना घाइते भएको बताइएको छ । भूकम्पको केन्द्रबिन्दु भूमध्यसागरमा रहेको बताइएको छ । भूकम्प मध्यराति ०२ः१७ बजे आएको थियो । टर्कीका टेलिभिजन च्यानलहरूमा देखाइएका दृश्यहरूका अनुसार ग्रीक टापु रोड्स लगायत आसपासको क्षेत्रहरूमा पनि भूकम्पको धक्का महसुस भएको छ ।

डराएर झ्याल वा बाल्कोनीबाट हाम फालेर सात जना घाइते भएको मारमारिसका गभर्नर इद्रिस अकबिकले बताएका छन् । घाइतेहरूको चोटपटकको उपचार भइरहेको र कुनै गम्भीर क्षतिको तत्काल कुनै रिपोर्ट नआएको भनिएको छ ।

टर्की मुख्य फल्ट लाइनहरूमाथि छ । त्यसैले यहाँ बारम्बार भूकम्प गइरहन्छन् । २०२३ मा ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पले टर्कीमा ५३ हजार भन्दा धेरैको ज्यान गएको थियो ।

दक्षिणी र दक्षिणपूर्वका ११ प्रान्तहरूमा हजारौं भवनहरूमा क्षति पुगेको थियो । छिमेकी देश सिरियाको उत्तरी भागहरूमा पनि ६ हजारभन्दा बढी मानिसहरूको मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us