
काठमाण्डू, ११ जेठ– एमाले निकट राष्ट्रिय युवा संघको पोखरामा जारी १० औं महाधिवेशन निर्वाचन प्रक्रियामा अघि बढेको छ । निर्वाचन समितिले भर्खरै सार्वजनिक गरेको तालिकाअनुसार अपरान्ह ४ देखि साँझ ६ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । महासंघमा कुल प्रतिनिधि १७५१ जना छन् ।
सोमबार बिहान ८ देखि अपरान्ह ४ बजेसम्म मतदान समय राखिएको छ । त्यसपछि मतगणनाको समय निर्धारण गरिएको छ ।महाधिवेशनबाट फेरि दोहोरिन चाहेका वर्तमान अध्यक्ष क्षितिज थेवे र महासचिव सुमन पुरीबीच प्रतिस्पर्धा देखिएको छ । तर, नेताहरू सर्वसम्मतको प्रयासमा जुटेका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन भन्दै थेवेलाई अध्यक्ष बनाउने र पुरीलाई पार्टीमा व्यवस्थापन गर्ने चर्चा भएपनि उनले मानिरहेका छैनन् । अध्यक्ष पदका आकांक्षीलाई व्यवस्थापन गर्न राष्ट्रिय युवा संघ नेपालले पार्टी निर्देशनविपरीत उपाध्यक्षबाट महिलाको कोटा हटायो । तर, अध्यक्ष सर्वसम्मत हुने सम्भावना अहिलेसम्म देखिँदैन ।
‘चुस्त कमिटी, दुरुस्त कार्यभार’ को मान्यतासहित एमालेले गत फागुनमा ‘क’ श्रेणीका जनसंगठनलाई ९ पदाधिकारी, १५१ सदस्यीय केन्द्रीय कमिटी र ‘ख’ श्रेणीका जनसंगठनलाई ९ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्न दिएको निर्देशन हालसम्म महाधिवेशन गरेका ११ जनसंगठनले पालना गरे ।
तर, आकांक्षी व्यवस्थापनका नाममा युवा संघले महिला उपाध्यक्षलाई सचिवमा लग्यो । त्यति गर्दाका पनि अध्यक्षका आकांक्षी व्यवस्थापन भएनन् । उपाध्यक्ष महाराज गुरुङ र महासचिव सुमन पुरीले पहिल्यैदेखि अध्यक्ष पदको दाबी गरिरहेका थिए । तर, बहालवाला अध्यक्ष क्षितिज थेवेले दोहोरिन चाहेपछि गुरुङ पुनः उपाध्यक्ष रहने गरी पछाडि हटे ।
महासचिव पुरीले उपाध्यक्ष स्वीकारेनन्, अध्यक्षमै प्रतिस्पर्धा गर्ने अडान लिए । उनैलाई बनाउनका लागि विधान संशोधन गरेर महिला उपाध्यक्षको कोटालाई सचिवमा झारियो । दुबै उपाध्यक्ष खुलातर्फ गयो । तर, बन्नुपर्नेले उपाध्यक्ष बन्न मानेनन् । यसरी दुई खुला उपाध्यक्ष बनाइँदा पनि सर्वसम्मत नभएपछि अहिले ४ बजेदेखि मनोनयन शुरु गर्ने गरी निर्वाचन आयोगले नयाँ तालिका सार्वजनिक गरेको छ । पूर्वतालिकाअनुसार दिउँसो १२ बजे मनोनयन दर्ता गर्नुपर्ने थियो ।
दुई खुला उपाध्यक्षसहित सर्वसम्मतको प्रयास गर्नका लागि उक्त समयमा मनोनयन फारम वितरण गरिएन । अन्ततः महिलाबाट खोसेर खुला कायम गरिएको उपाध्यक्ष पनि निर्वाचनबाटै चउन गर्नुपर्ने भएको छ ।
एमालेले जनसंगठनमा एक अध्यक्ष, महिलासहित दुई उपाध्यक्ष, एक–एक महासचिव, उपमहासचिव, प्रचार, विदेश मामिला, संगठन र आर्थिक विषय हेर्ने गरी चार सचिव बनाउन निर्देशन दिएको थियो । युवा संघले विदेश हेर्ने गरी बनाउनुपर्ने सचिवलाई कटौती गर्दै महिलालाई समावेश गरेको छ ।