सरकारका प्रवक्ताको प्रतिप्रश्नः कर्मचारी पक्राउ पर्दा गृहमन्त्रीले राजीनामा दिनुपर्छ र ?

काठमाण्डु टुडे २०८२ जेठ ११ गते १६:३१ मा प्रकाशित

काठमाण्डू, ११ जेठ– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एक कर्मचारी पक्राउ हुँदैमा गृहमन्त्री रमेश लेखेकले राजीनामा दिनु नपर्ने तर्क गरेका छन ।

आज (आइतबार) भद्रकालीमा आयोजित फोटो प्रदर्शनी कार्यक्रममा सहभागी हुन जाने क्रममा सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन । सरकारका प्रवक्ता समेत रहेका गुरुङले सुरुमा छानबिन हुन दिनु पर्ने बताएका छन ।

उनले भने, ‘अध्यागमन (इमिग्रेसन) मा जे खालको अनियमितता भयो भनेर छानबिन भएको छ, छानबिन हुन दिनुहोस् ।’ गृहमन्त्रीको राजीनामा माग भइरहेको सन्दर्भमा सञ्चारकर्मीले सोधेको प्रश्नमा गुरुङले प्रतिप्रश्न गरे, ‘एउटा तीर्थ भट्टराई पक्राउ पर्छ, गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्ने हुन्छ र ?’

साथै उनले कुरा र भाषणले मात्र समृद्धि नआउने भएकाले अब कम बोल्ने धेरै काम गर्ने संस्कृतिको थालनी गर्नुपर्ने बताए । ‘हामीले कम बोल्ने र धेरै काम गर्ने संस्कृति थालनी गर्नुपर्छ,’ उनले भने । थोरै लगानीमा धेरै उपलब्धि हासिल गर्न सकिने क्षेत्र पर्यटन हो । मन्त्री गुरुङले पर्यटन देशको समृद्धिका लागि महत्त्वपूर्ण क्षेत्र रहेको बताउँदै इमानदार भएर यसको प्रवर्द्धनमा काम गर्न समेत आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us