काठमाण्डू, १६ माघ– पूर्वमन्त्री एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा आउनु उचित नहुने बताएका छन ।
आज (बुधबार) प्रेस चौतारी रूपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले उपमहासचि ज्ञवालीले यस्तो बताएका हुन । उनले राष्ट्रध्यक्षहरू पार्टीको सक्रिय राजनीतिमा आउनुलाई राम्रो नहुने प्रतिक्रिया दिएका छन ।
उनले एमालेमा यो विषयमा कुनै छलफल समेत नभएको पनि बताएका छन । उनले भने, ‘सामान्यतयाः संवैधानिक राष्ट्राध्यक्षहरू मुलुककै अभिभावक हो । त्यस अर्थमा नेकपा एमालेको पनि अभिभावक हो उहाँहरू ।
तर मुलुककै अभिभावक भइसकेको मान्छे, पार्टीमा प्रत्यक्ष कार्यकारी भूमिकामा फर्कने कुरा चाहिँ मैले सामान्य अवस्थामा त्यो उचित हो भन्ने म ठान्दिनँ ।’ उक्त विषयमा पूर्वराष्ट्रपति भण्डारी सचेत नै भएको जस्तो आफूलाई लागेको पनि ज्ञवालीले बताए ।
पूर्वराष्ट्रपति भण्डारी सामान्य अवस्था एमालेलेमा सक्रिय हुने सम्भावना आफूले नदेखेको भन्दै ज्ञवालीले आम नागरिकले पनि यस्तो कुरा नचाहेको दाबी गरे । साथै, उनले पार्टी अध्यक्षकै इच्छा विपरित प्रतिस्पर्धा गर्नेगरी राजनीतिमा आउन लागेको भन्ने कुरा सहि नभएको दाबी गरे ।