काठमाण्डू, १५ माघ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकार निदाइरहेको आरोप लगाएका छन । आज मंगलबार समाजवादी मोर्चाद्वारा काठमाण्डूमा आयोजित विचार सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाएका हुन । अध्यक्ष नेपालले भने, ‘सरकार निदाएर बसेको छ ।
सरकारलाई कुनै चासो, मतलब छैन। नेपाल कृषिप्रधान देश हो तर, माछासमेत ८० प्रतिशत आयात गरेरै खाइरहेका छौँ। यो लाजको विषय हो। नेपालमै उत्पादन गर्नुपर्छ, बजार हामी दिन्छौँ भन्न सक्दैन सरकार ? हाम्रो एउटा विप्लव कमरेडले चाहँदा त भएको छ ।’
सोमबार मात्रै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाण्डूमा ‘सी व्यापार केन्द्र’को स्थापना गरेको छ। यही प्रसङ्ग झिक्दै नेपालले यस्तो बताएका हुन्। फरक प्रसङ्गमा उनले २०८४ सालको निर्वाचनमा समाजवादी पार्टीहरू मिल्नुपर्ने आवश्यकता रहेको पनि बताए ।