काठमाण्डू, १५ माघ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकार निदाइरहेको आरोप लगाएका छन ।
आज मंगलबार समाजवादी मोर्चाद्वारा काठमाण्डूमा आयोजित विचार सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाएका हुन । अध्यक्ष नेपालले भने, ‘सरकार निदाएर बसेको छ। सरकारलाई कुनै चासो, मतलब छैन। नेपाल कृषिप्रधान देश हो तर, माछासमेत ८० प्रतिशत आयात गरेरै खाइरहेका छौँ। यो लाजको विषय हो ।
नेपालमै उत्पादन गर्नुपर्छ, बजार हामी दिन्छौँ भन्न सक्दैन सरकार ? हाम्रो एउटा विप्लव कमरेडले चाहँदा त भएको छ ।’ सोमबार मात्रै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाण्डूमा ‘सी व्यापार केन्द्र’को स्थापना गरेको छ। यही प्रसङ्ग झिक्दै नेपालले यस्तो बताएका हुन् ।
फरक प्रसङ्गमा उनले २०८४ सालको निर्वाचनमा समाजवादी पार्टीहरू मिल्नुपर्ने आवश्यकता रहेको पनि बताए ।