विपक्षी दलहरुले मोर्चाबन्दी गरेर भ्रम फैल्याइरहेका छन्ः एमाले

काठमाण्डु टुडे २०८१ माघ १५ गते १६:२८ मा प्रकाशित

काठमाण्डू, १५ माघ– सत्ता घटक दल एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलसहितका विपक्षीहरूले मुलुकमा भ्रमको खेती गरिरहेको दाबी गरेका छन ।

आज (मंगलबार) संसदीय दलको बैठकका क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख सचेतक बर्ताैलाले यस्तो बताएका हुन । प्रमुख सचेतक बर्तौलाले अनावश्यक मोर्चाबन्दीमार्फत सरकारमाथि आक्रमण गर्ने प्रवृत्ति विपक्षी दलहरूले अपनाएको पनि बताएका छन ।

उनले वर्तमान सरकार देश र जनताको हितलाई केन्द्रमा राखेर र सुशासन प्रवर्द्धनलाई ध्येय बनाएर काम गरिरहेको भए पनि विपक्षीहरूले सरकारमाथि अनर्गल आरोप लगाउने काम गरिरहेको पनि बताएका छन ।

प्रमुख सचेतक बर्तौलाले भने, ‘नेकपा एमालेले अहिले सरकारको नेतृत्व गरिरहेको छ। आगामी संसद् अधिवेशनमा संसदीय दलका सदस्यहरूले खेल्नुपर्ने भूमिकाबारे बैठकमा छलफल हुनेछ ।

सांसदहरूले संसदीय काम र प्रक्रियालाई आफ्नो पहिलो दायित्व ठानी बैठकमा उपस्थित हुनुपर्छ भन्ने निस्कर्ष बैठकले निकाल्नेछ। तर, प्रमुख प्रतिपक्ष र अन्य विपक्षी दलले अनावश्यक मोर्चाबन्दी गर्दै मुलुकलाई भ्रमित बनाउन खोजिरहेका छन्।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us