काठमाण्डू, १५ माघ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डिजिटल भुक्तानीलाई निःशुल्क गर्न सरकारको ध्यानाकर्षण गराएको छ । रास्वपा सचेतक निशा डाँगीले मंगलबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेर डिजिटल भुक्तानीमा लाग्दै आएको कर तत्काल हटाउन माग गरेकी छन ।
विद्युतीय कारोबारमा कर लगाउने परिपाटीले सर्वसाधारणले अनाहकमा बढी रकम तिर्नु परेको बताउँदै उनले सरकारले डिजिटल फ्रेम नेटवर्कको खाका बनाएको भएपनि कर लगाउनु गलत भएको उनको दाबी गरेकी छन ।
सचेतक डाँगीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सरकार एकातिर डिजिटल फ्रेम नेटवर्कको खाका बनाएका विद्युतीय कारोबारलाई प्रोत्साहन गरेको बताउँछ‚ अर्कोतिर विद्युतीय कारोबारमा सानो मन गरेर कर लगाउने व्यवहारले सर्वसाधारणलाई थप आर्थिक भार पुर्याइरहेको भन्ने विषय उल्लेख गर्दै सरकारले आगामी दिनमा निःशुल्क डिजिटल भुक्तानी गर्न आवश्यक नीति तथा संरचना बनाई डिजिटल भुक्तानी प्रयोगकर्तालाई प्रोत्साहन गर्दै डिजिटल भुक्तानीलाई अझ सहज र प्रभावकारी बनाउन अनुरोध गरेको छु।’