सरकारले ६ महिनामा भ्रष्टाचारी संरक्षणबाहेक केही गरेनः लिङ्देन

काठमाण्डु टुडे २०८१ माघ ५ गते १४:१९ मा प्रकाशित

हेटौंडा, ५ माघ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान काँग्रेस–एमाले गठबन्धनको सरकार भ्रष्टाचारीको संरक्षणका लागि बनेको आरोप लगाएका छन् ।

हेटौंडामा शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकारले सत्तारुढ दलका नेता र उनीहरुनिकट व्यक्तिहरु संलग्न भ्रष्टाचार प्रकरणको ढाकछोप गरिरहेको आरोप लगाए ।

‘वर्तमान सरकार भ्रष्टाचारको काण्ड सामसुम पार्न र भ्रष्टाचारीहरुलाई गोजाउन बनेको हो’, लिङ्देनले भने, ‘गठन भएको ६ महिनामा सरकारका गतिविधिले त्यो कुराको पुष्टि गरेको छ ।’

फरक प्रसंगमा उनले नयाँ भनिएका दलहरु पनि भ्रष्टाचार गर्न पाउनुपर्ने भन्दै वकालतमा उत्रिएको दाबी गरे ।

आफूले भ्रष्टाचार गरेकाले आफू र आफ्नो दलले पनि भ्रष्टाचार गर्नु पाउनुपर्छ भन्नु लज्जास्पद विषय भएको टिप्पणी गरे ।

उनले मुलुकमा विदेशी चलखेल बढेको तथा राष्ट्रियता कमजोर भएको टिप्पणी गरे ।

देशमा चरम निराशा बढेको र युवाहरुले देश छाड्ने क्रम ह्वात्तै बढेको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us