गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रंगशाला छिटो सम्पन्न गर्न सरकारले ध्यान देओस्: प्रचण्ड

काठमाण्डु टुडे २०८१ माघ ५ गते १२:२७ मा प्रकाशित

विराटनगर, ५ माघ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको जानकारी दिंदै यसलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

शनिबार बिहान प्रचण्डले रंगशालाको अनुगमन गरे । त्यस क्रममा उनले नेपाली राजनीतिका ऐतिहासिक व्यक्तित्व एवं शान्ति सम्झौताका हस्ताक्षरकर्ता पूर्वप्रधानमन्त्री कोइरालाको नाम जोडिएको उक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउन आफ्नो प्रधानमन्त्रीत्वकालमा सुरु गरिएको जानकारी पनि दिए ।

‘पहिले यो रंगशालाको नाम झापा वैजनाथ खेलमैदान थियो, म प्रधानमन्त्री भएकको बेलामा विस्तृत शान्ति सम्झौताका एक हस्ताक्षरकर्ता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको एउटा प्रमुख नेताको नामबाट यसलाई अघि बढाइएको छ,’ प्रचण्डले भने, ‘यो राष्ट्रिय गौरवको आयोजना हुनु पूर्वी नेपालकै खेल क्षेत्र र समग्र विकासका लागि महत्वपूर्ण छ । यसलाई छिटोभन्दा छिटो निर्माण गरियोस्, म प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा पनि यसलाई अघि बढाउन सहयोग गर्नेछु ।’

आफूले यो रंगशलालाई मात्रै नभई सबै प्रदेशका रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने निर्णय गरिएको जानकारी दिंदै प्रचण्डले बहुआयामिक प्रकृतिको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई थप प्राथमिकताका साथ अघि बढाउन आवश्यक रहेकोमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us