दुई तिहाई छ भन्नेले संसद् छलेर अध्यादेश ल्याउनु दुर्घटना निम्त्याउनु होः प्रचण्ड

काठमाण्डु टुडे २०८१ माघ ५ गते ८:३७ मा प्रकाशित

विराटनगर, ५ माघ–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस–एमाले गठबन्धन बनेकै दिनदेखि मुलुकको राजनीतिमा दुर्घटनाको खतरा मडारिएको बताएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सरकार अप्राकृतिक, अपारदर्शी र असंवैधानिक ढंगबाट बनेको बताए ।

लोकतन्त्रमा संसदको पहिलो र दोश्रो दल मिलेर सरकार बन्नु नै गलत रहेको भन्दै उनले सरकारका ६ महिनाका गतिविधिले मुलुकलाई राजनीतिक दुर्घटनातर्फ लगेको बताए ।

संसद अधिवेशन छलेर समितिमा विचाराधीन रहेको विषयमा अध्यादेश ल्याएर सरकारले विधि उल्लंघन गरेको टिप्पणी उनको छ ।

प्रचण्डले अध्यादेश फिर्ता लिन र तत्काल संसद बोलाउन माग गरे ।

दुई तिहाईको सरकार भएको दाबी गर्नेले अध्यादेश ल्याउन छाडेर संसदीय प्रक्रियाबाट कानून बनाउने प्रक्रियामा जानुपर्ने उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us