चितवन, ४ माघ– चितवन प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध सहकारीको बचत अपचलन कसुरमा पुरक प्रतिवेदन तयार पारेको छ ।
सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन कसुरमा लामिछानेमाथि प्रहरीले अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा पुरक प्रतिवेदन पेस गरेको हो ।
चितवन प्रहरीका डिएसपी ज्ञानकुमार महतोले प्रहरी प्रतिवेदनमा लमिछानेसहित २७ व्यक्ति र विभिन्न ७ कम्पनीमाथि कारबाही अघि बढाउन प्रतिवेदन बुझाएको जानकारी दिए । उक्त सहकारीबाट लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्क प्रा.लि.को खातामा १० करोड ८० लाख १८ रुपैयाँ गएको देखिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
यस्तै जिबी राई अध्यक्ष रहेको नेचर हर्ब्स इन्टरनेसनल प्रा.लि.मा ९ करोड ७३ लाख ८१ हजार ५९७, जिबी ग्रुप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८ सय ५४, स्प्रिङ उड रियल स्टेटमा ६ करोड ८१ लाख ८८ हजार ७ सय ३, नेचर नेस्ट प्रा.लि. मा ६ करोड ५१ लाख १० हजार ३ सय २२ रुपयाँ सहारा चितवन सहकारीबाट गएको देखिएको छ ।
प्रहरीले बचतकर्ताको उजुरीका आधारमा पहिलो चरणमा गत ८ असोजमा पनि जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।
जिबी राईसहित १७ जनाविरूद्ध सहकारीको बचत हिनामिना कसुरमा यसअघि नै चितवन जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ ।
जिल्ला सरकारी वकिल कार्यालय चितवनले सहकारीबाट गोर्खा मिडियाको नाममा रहेको ग्लोबल आइएमई बैंकको खातामा जम्मा भएको ४७ करोड रुपैयाँ बराबरको रकमबारे अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएपछि पुराक अनुसन्धान अघि बढेको हो ।
उक्त सहकारीका ६ हजार ३ सय ३४ बचतकर्ताको ५२ करोड ३२ लाख ८५ हजार ३ सय ८ रूपैयाँ अपचलन भएको प्रहरी प्रतिवेदनले औंल्याएको छ ।