काठमाण्डू, ४ माघ– एमाले महासचिव शंकर पोखरेलले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका लागि एमालेको ढोका बन्द रहेको बताएका छन् ।
एकीकृत समाजवादी सम्वद्ध पत्रकारको संस्था समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुदेवीलाई शुक्रबार पार्टी प्रवेश गराउँदै पोखरेलले माधव नेपाल एमालेमा आउन चाहे पनि उनलाई नलिने बताए । हार्दिकतापूर्वक स्वागत गर्ने हो भने माधव नेपाल एमाले प्रवेश गर्ने जिकिर उनको थियो ।
‘हार्दिकतापूर्वक स्वागत गर्ने हो भने विश्वमणि होइन माधव नेपाल आउनुहुन्छ’, उनले भने, ‘तर हामीले माधव नेपालको लागि ढोका खोलेको छैनौं ।’ एमालेले सम्मान दिए माधव नेपाल ढिला नगरी फर्कने जिकिर उनले गरे ।
माधव नेपालले एमाले सकाउन विगतमा ठूलो गल्ती गरेकाले उनलाई स्वागत गर्ने पक्षमा आफूहरु नरहेको पोखरेलले बताए । उनले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याए पार्टी सकिन्छ भन्ने त्रासमा माधव नेपाल रहेको टिप्पणी गरे ।
अध्यादेश ल्याएरै एमालेको २० प्रतिशत सांसद र केन्द्रीय सदस्यले पार्टी फुटाए पनि नसकिएको उदहरण उनले प्रस्तुत गरे । अर्को निर्वाचनको सम्मुखसम्म एकीकृत समाजवादीका सबै नेता कार्यकर्ता एमालेमा फर्किसक्ने दाबी पोखरेलको छ ।