काठमाण्डु, १६ मंसिर- कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तह उपनिर्वाचन निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा धन्यवाद दिएका छन् ।
आइतबार साँझ ४१ पदका लागि भएको उपनिर्वाचन सकिएपछि सभापति देउवाले विज्ञप्तिमार्फत पार्टीका तर्फबाट सरकार र निर्वाचन आयोगसहित सम्वद्ध सबैलाई धन्यवाद दिएका हुन् ।
‘देशका विभिन्न पालिकामा रिक्त पदहरूका लागि आज भएको उपनिर्वाचनमा नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले अत्यन्त उत्साह र धैर्यसाथ आफ्नो अमूल्य मत दिनु भएको छ । आजको उपनिर्वाचनमा उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले लोकतन्त्रप्रति नागरिक विश्वासलाई थप प्रमाणित गरेको छ । यो विश्वास कायम राख्ने ढंगले कार्य गर्न सरकार र राजनीतिक दलहरूलाई थप प्रेरणा मिलेको छ,’ देउवाले भनेका छन् ।
शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा उपनिर्वाचन सम्पन्न गराउन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई सभापति देउवाले धन्यवाद दिए ।