पार्टी फुटको हल्लाबारे माधव नेपालः कागले कान लग्यो भनेर नदौडिनुस्

काठमाण्डु टुडे २०८१ कार्तिक ५ गते १८:२६ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टी फुटको हल्ला निराधार भएको दाबी गरेका छन ।

आज (सोमबार) कपिलवस्तुमा लुम्बिनी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले एकीकृत समाजवादी पार्टी फुटको हल्ला निराधार रहेको बताएका छन ।

अध्यक्ष नेपालले भने, ‘हाम्रो पार्टी एमाले वा माओवादी कसैसंग विलीन हुँदैन, विलिन हुन लागेको चर्चा गलत हो, बेकारको हल्ला हो’, नेपालले भने, ‘हामी आफ्नो अस्तित्वमा चलिरहेका छौँ, कागले कान लग्यो भनेर नदौडिनुस् कान छाम्नुस् ।’

उनले पार्टी विभाजन भए पनि सामना गर्नुको विकल्प नभएको बताएका छन । ‘चुनाव आफै माग्ने, सबै प्रकृयामा भाग लिने अनि हारेपछि गलत भयो भनेर गीत गाएर हिंड्ने ?’– नेपालले भने, ‘पार्टी फुटको कुरा हल्ला हो तर फुटेछ भने आकाशै खस्दैन, हिम्मतका साथ सामना गर्नुको विकल्प छैन ।’ अध्यक्ष नेपालले पार्टी विभाजन गर्ने अध्यादेश ल्याउने दुस्साहस नगर्न सरकारलाई आग्रह समेत गरे ।

प्रधानमन्त्री ओलीको नाम नलिई अध्यक्ष नेपालले अरूलाई सिध्याउने हिटलरी शैलीलाई परित्याग गर्न आग्रह समेत गरेका छन । सरकारले अरू पार्टीलाई फुटाउने दुस्साहस गरे त्यसको परिणाम नराम्रो हुने उनले चेतावनी दिएका छन ।

अध्यक्ष माधवकुमार पार्टी स्थापनाको तीन वर्षमै डेढ लाख पार्टी सदस्य बनेकाले सानो मन नबनाउन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । उनले भने, ‘धेरैले हाम्रो पार्टी गठन, त्यसपछि खेलेको भूमिकाको प्रसंशा गरेका छन्, कतिपयले हामीबाट खतरा महसुस गरेर गाली पनि गरेका छन्’, नेपालले भने, ‘एमालेको नवौं महाधिवेशनसम्म एक लाख ५ हजार मात्रै संगठित पार्टी सदस्य थिए तर हाम्रो पार्टी गठनको तीन वर्षमै डेढ लाख सदस्य पुगिसके, विभिन्न पार्टीबाट प्रवेश गर्ने क्रम पनि छ, त्यसैले मन खुम्च्याउनु र खिन्न हुनुपर्दैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us