काठमाण्डु, ५ कात्तिक– त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र सोध्ने भएको छ । वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्न पत्रहरू अङ्ग्रेजी र नेपाली दुवै भाषामा निर्माण गर्ने तयारी गरेको छ ।
अब हुने प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गर्ने गरी त्रिविले तयारी रहेको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको २०८० साल चैत्र १५ गत बसेको बैठकले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प प्रश्नोत्तर तयार पार्ने निर्णय गरेको थियो ।
उक्त निर्णय आगामी वर्षको परीक्षादेखि नै अनिवार्य रूपमा लागू गर्न लागेको हो । उक्त व्यवस्था क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागु गरिने त्रिविले जनाएको छ ।
त्यसबारे त्रिविले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जानकारी गराएको छ । मन्त्रालयलाई एक पत्र लेख्दै त्रिविले पहिलो चरणमा हाललाई शिक्षा शास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक तहको परीक्षामा सोधिने प्रश्नहरू नेपाली र अङ्ग्रेजी दुवै भाषामा सोध्ने प्रबन्ध मिलाइने जनाएको हो ।