काठमाण्डु, ५ कात्तिक– एमालेलाई पार्टी कार्यालय बनाउन ११ रोपनी जग्गा दान दिएका व्यवसायी मीनबहादुर गुरुङले काँग्रेस उपसभापति धनराज गुरुङलाई १ करोड रुपैयाँ दिएको खुलासा भएको छ ।
ललितपुरको मितेरी सहकारीको रकम हिनामिनामा मुछिएका कांग्रेसका उपसभापति गुरुङले सहकारीको ऋण तिर्न भन्दै उक्त रकम लिएका हुन् ।
धनराज कानूनमन्त्री भएका बेला सहकारीमा ९१ लाख रुपैयाँ ऋण तिरेको सहकारीको अपचलन छानबिनसम्बन्धी संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ । सो रकम उनले व्यवसायी गुरुङबाट लिएको पुष्टि भएको छ ।
धनराजले मीनबहादुरको नामबाट काटिएका ८२ लाखको चेक सहकारीमा आफैंले डिपोजिट गरेका थिए ।
गत १७ वैशाख र ६ जेठमा सातवटा चेकमार्फत ९१ लाख बुझाएको संसदीय समितिको प्रतिवेदनले औंल्याएको छ । धनराजले सहकारीको ऋण तिर्न मीनबहादुरसँग ऋण लिएको स्वीकार गरे । मीनबहादुर आफ्नो नातेदार भएको र सहकारीको ऋण तिर्न सापटी लिएको बताए ।
व्यवसायी मीनबहादुर गुरुङले पनि धनराजलाई रकम दिएको स्वीकार गरे । उनले धनराज आफ्नो १३ दिने भाई भएकाले अप्ठेरो परेको भनेपछि काजग गराएर १ करोड रुपैयाँ दिएको बताए ।
धनराजले श्रीमती ज्योतिसँग ०७६ फागुनमै सम्बन्ध विच्छेद भएको दाबी गर्दै आएका छन् । तर, मितेरी सहकारीबाट ०७७ मा ऋण लिएका उनले हकवालामा ज्योति गुरुङको नाम उल्लेख गरेका छन् । मितेरी सहकारीकी प्रबन्धक समेत रहेकी ज्योतिले १४ करोड ८१ लाख रुपैयाँ हिनामिना गरेको खुलेको छ । हाल फरार उनी अमेरिकामा छिन् ।
धनराज र उनकी पत्नी ज्योतिले १४ करोड ८१ लाख हिनामिना गरेको भन्दै मितेरी सहकारीले बागमती प्रदेश सहकारी रजिस्ट्रार कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) मा उजुरी दिएको छ ।
सहकारीका अध्यक्ष कुम्भराज गुरुङले संसदीय समितिमा उपस्थित भएर धनराज र ज्योतिले मिलेमतोमा सहकारी ठगी गरेको बयान दिएका थिए । धनराज आफैंले ऋणको सावाँ ब्याज तिर्ने गरेको तथा उनीहरु दुवै जनासँग सँगै बसेर समस्या समाधानका लागि पटकपटक छलफल भएको उनको भनाइ छ ।
सत्तारुढ दलका नेता भएका कारण उनलाई अनुसन्धानको दायाराबाहिर राखिएको मितेरीका अध्यक्ष गुरुङ बताउँछन् ।
‘प्रदेश रजिष्ट्रार कार्यालयले धनराजको नाम हटाएर कारबाही गर्नुपर्नेहरुको नाम सिफारिस गरेको छ’, कुम्भराजले भने, ‘सीआईबीले एकपटक पनि सोधपुछका लागि समेत बोलाएको छैन ।’