अन्तर्राष्ट्रिय बजारमा बागलुङमा उत्पादित छुर्पीको माग उच्च

काठमाण्डु टुडे २०८१ कार्तिक ५ गते ८:५१ मा प्रकाशित

बागलुङ, ५ कात्तिक– पछिल्लो समय यहाँ उत्पादित छुर्पीले राम्रो बजार पाएको छ ।

सहकारीमार्फत संकलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाण्डु हुँदै अमेरिका निर्यात हुने गरेको छ ।
बागलुङ दूग्ध उत्पादक सहकारी संघमार्फत दूध संकलन, प्रशोधन र बजारीकरण हुने गरेको छ ।

वार्षिक ८ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने सहकारी संघले आर्थिक वर्ष २०८०/८१ मा मात्रै ३८ लाख ५४ हजार ४१० को छुर्पी अमेरिका निर्यात गरेको हो ।

दुग्ध सहकारी संघ बागलुङका अध्यक्ष दीपक गौतमका अनुसार सहकारीबाट उत्पादित दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवामध्ये छुर्पीको माग अन्तर्राष्ट्रिय बजारमा उच्च छ । दूध, तथा अन्य उत्पादनहरु बागलुङमै खपत भइरहेको हुन्छ, तर छुर्पीको बजार अन्तर्राष्ट्रियस्तरमा छ’, गौतमले भने ।

दूग्ध उत्पादक सहकारी संघमा एक हजार पाँच सय किसान आबद्ध छन् । संघले किसानबाट संकलित दूधसहित अन्य सात प्रकारका दूग्धजन्य परिकार उत्पादन गरी बिक्री तथा वितरण गर्दै आएको छ ।

संघले बागलुङ जिल्ला दूधमा आत्मनिर्भर बनाएको छ । सहकारीले गत आवमा सात करोड ८३ लाखको दूध, एक करोडको दही, २० लाखको घ्यू, ३२ लाखको पनिर र ८० हजारको खुवा बिक्री गरेको जनाएको छ ।

हाल सहकारी संघले छुर्पी प्रतिकिलो एक हजार दुई सयमा बिक्री गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us