एमाले र माओवादी मिलाउन चीन सक्रिय

काठमाण्डु टुडे २०८१ कार्तिक ५ गते ८:४५ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक– उत्तर छिमेकी चीनले नेपालका दुई ठूला कम्युनिष्ट घटक एमाले र माओवादी केन्द्रलाई मिलाउने प्रयास गरेको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को सिङहाइ प्रान्तका सचिव चिनियाँ छन् गाङले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छुट्टाछुट्टै भेटमा कम्युनिष्ट एकतामा जोड दिएका हुन् ।

छन् राष्ट्रपति सीको विशेष दूतका रुपमा नेपाल आएका हुन् । छन्ले प्रचण्डलाई शनिबार र ओलीलाई आइतबार भेटेका थिए । छन् राष्ट्रपति सीका निकट विश्वासपात्र हुन् । दुवै दलका नेताले तत्काल एकता सम्भव नभएको जवाफ छनलाई दिएका छन् ।

ओलीले काँग्रेससँग सत्ता सहकार्य गरेपछि चिसिएको दुई नेता र पार्टीबीचको सम्बन्धमा तत्काल सुधारको संकेत नभएकाले एकता जटिल रहेको जवाफ आफूहरुले दिएको माओवादी केन्द्रका एक नेताले बताए ।

‘चिनियाँ राष्ट्रपति सीको दुई ठूला कम्युनिष्ट मिल्नुपर्छ भन्ने सपष्ट सन्देश छन्ले ओली र प्रचण्डलाई सुनाउनुभएको छ’, ती नेताले भने ।

भेटमा प्रचण्ण्डले आफू र राष्ट्रपति सीबीच गत वर्ष भएको सहमति र सी पाँच वर्षअघि नेपाल आउँदा भएका सम्झौता र समझदारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीसँग छन्ले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरे । भेटमा कम्युनिष्ट एकता र दुई दलबीचको सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

भेटपछि प्रधानमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिमा दुई मुलुकबीच सरकार–सरकार, जनता–जनताका साथै व्यापारिक, पौराणिक र सांस्कृतिक सम्बन्ध रहेकाले उच्चस्तरीय भ्रमणको आदानप्रदानको क्रमलाई निरन्तरता दिनुपर्ने बताएको उल्लेख छ ।

ओलीले एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र चीनविरोधी गतिविधिका लागि नेपाली भूमि प्रयोग गर्न नदिने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us