काठमाण्डू, ४ कात्तिक- सरकार नेतृत्वकर्ता एमालेले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरूङले ११ रोपनी जग्गा दान दिएको विषयलाई मानवीय रुपमा लिइनुपर्ने दाबी गरेको छ ।
आइतबार एमाले सचिलालयको बैठकपछि सन्चारकर्मीसँग कुरा गर्दै महासचिव शंकर पोखरेलले ०७२ को महाभूकम्पले क्षतिग्रस्त
पार्टी केन्द्रीय कार्यालय भवन बनाउन सहयोग प्राप्त गरेको विषयलाई मानवीयताको हिसाबले लिन आग्रह गरे ।
व्यवसायी गुरूङबाट जग्गा दान लिएर पार्टी कार्यालय बनाउँदा स्वार्थ नबाझिने जिकिर उनको थियो ।
भूकम्पबाट क्षति भएको भवनको पुनर्निर्माणमा सहयोग पाउने हकअन्तर्गत नै दान प्राप्त गरेकाले यसलाई अन्यथारूपमा नबुझ्न पोखरेलले आग्रह गरे ।
‘यो विषयमा स्वार्थ बाझिनुपर्ने कुनै कारण छैन । खास गरी १० वर्ष अगाडिको भूकम्पबाट राज्यका धेरै संरचना क्षतिग्रस्त भए । हजारौं नागरिकहरूका घरहरू भत्किए । स्वाभाविक रूपमा अन्तर्राष्ट्रिय निकायहरूसमेत संलग्न भएर राहत, उद्धार र पुनर्निर्माणका कामहरू भए । हाम्रै पार्टीको सरकारले जनताका घर, सार्वजनिक भवन बनाउने, सम्पदा क्षेत्र पुनर्निर्माण गर्ने कामको सफलतापूर्वक नेतृत्व पनि गर्यो । त्यही क्रममा क्षतिग्रस्त भएको भवन हो हाम्रो कार्यालय,’ पोखरेलले भने ।
राज्यले मात्रै होइन अन्तर्राष्ट्रिय समुदायले समेत त्यो क्षति पूर्ति गर्ने कामहरू गरिरहँदा एक जना व्यापारीले ‘एमालेले बेहोरेको क्षति सन्दर्भबारे म गम्भीर छु, म सहयोग गर्न चाहन्छु’ भन्ने कुरालाई मानवीयताका हिसाबले लिनुपर्ने तर्क पोखरेलले गरे ।
महाविपत्तिका बेलामा भएको क्षतिमा सहयोग प्राप्त गर्ने हक हुने भन्दै महासचिव पोखरेलले एमालेको पनि छ भन्ने कुरा बुझ्नुपर्ने तर्क गरे ।
‘एमालेले सहयोग प्राप्त गर्ने कुरा अवाञ्छित र अनुचित होइन । विपदका बेला, संकटको बेला सहयोग गर्ने कुरा राज्यको दायित्वको कुरा हो । राज्यकै कुनै एउटा नागरिकले म सहयोग गर्छु भन्ने कुरालाई स्वाभाविक रूपमा लिनुपर्छ,’ उनले भने ।
व्यवसायी गुरूङले दान दिएको कीर्तिपुर मैत्रीनगरको १० रोपनी १४ आना जग्गामा २५ असोजमा एमाले केन्द्रीय कार्यालय भवनको शिलान्यास गरिएको थियो ।
नक्कली भ्याट छली प्रकरणमा सर्वोच्च अदालतबाट १ अर्ब जरिवानाको फैसला गरिएका र बालुवाटारस्थित ललीता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणमा मुछिएका गुरूङबाट लाखौं मूल्य पर्ने जग्गा दान लिएको र उनैले पार्टी कार्यालय भवन बनाइदिने विषयमा चर्को विरोध भइरहेको छ ।
एमाले सचिवालय बैठकले भवन निर्माणका लागि जग्गा दान लिएको विषयमा सार्वजनिक रुपमा असहमति प्रकट गरेकामा स्थायी कमिटी सदस्य विन्दा पाण्डे, केन्द्रीय सदस्य उषाकिरण तिम्सेना र पूर्वउपाध्यक्ष भीमबहादुर रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
स्थायी कमिटी सदस्य पाण्डेले सामाजिक सन्जालमा व्यवसायी गुरूङसँग दान लिएर पार्टी केन्द्रीय कार्यालय भवन बनाउने कदमले साढे पाँच लाख पार्टी सदस्य र २८ लाख मतदाताको शिर झुकेको टिप्पणी गरेकी थिइन् ।
केन्द्रीय सदस्य तिम्सेना र पूर्वउपाध्यक्ष रावलले पनि सोही आशयको अभिव्यक्ति दिँदै आएका छन् ।