काठमाण्डू, ४ कात्तिक- प्रधानमन्त्री केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
ओली भेट्न देउवा आइतबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए ।
देउवा आफूलाई भेट्न बालुवाटार आउने प्रधानमन्त्री ओली पार्टी सचिवालयको बैठक छोट्याएर च्यालस्थित एमाले मुख्यालयबाट हतारहतार बालुवाटार आएका थिए ।
उनीहरुबीच समसामयिक राजनीति र सरकारका कामकारबाहीबारे कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ ।
स्रोतका अनुसार संगठित अपराध र सहकारी ठगीको कसुरमा अनुसन्धानका लागि रवि लामिछाने पक्राउ परेपछि उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता कार्यकर्ताले पोखरासहित देशका विभिन्न स्थानमा गरेको सरकारविरोधी प्रदर्शन उग्र बन्दै गएकोमा दुई नेताबीच समीक्षा भएको थियो ।
पोखरामा आइतबार रास्वपा कार्यकर्ताले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
पोखराको शहीद चोकमा भएको प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीलाई तितरवितर पारेको थियो ।
ओली र देउवाबीच प्रदर्शन उग्र बनाउँदै लगेमा रास्वपा कार्यकर्तामाथि बल प्रयोग गर्ने समझदारी भएको बुझिएको छ ।