पक्राउ पुर्जी जारी भएपछि इन्स्पेक्टर शाही फरार

काठमाण्डु टुडे २०८१ कार्तिक १ गते ७:१८ मा प्रकाशित
काठमाण्डू, १ कात्तिक-ट्र्यापिङमा पारेर एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख असुलेको घटनामा पक्राउ पुर्जी जारी भएपछि इन्स्पेक्टर विनुकुमारी शाही फरार भएकी छिन् ।
ललितपुरको प्रहरी प्रभाग बुङमती (भैँसेपाटी) को प्रमुखमा कार्यरत रहँदा शाहीले गत ७ असोजमा एक व्यवसायीलाई पक्राउ गरी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख लेनदेन गरी छाडेकी थिइन् । उक्त घटनाबारे सूचना पाएपछि जिल्ला प्रहरी परिसर ललितपुरले छानबिन गर्दा मिलेमतो पुष्टि भएको थियो ।

घटनामा संलग्न गिरोहलाई सघाउने सहायक हवल्दार महेन्द्र हमाल पक्राउ परेको र इन्स्पेक्टर शाहीमाथि अनुसन्धान अघि बढेको ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले बताए । डिएसपी नरहरि अधिकारी नेतृत्वको छानबिन समितिको प्रतिवेदनका आधारमा इन्स्पेक्टर शाहीमाथि समेत फौजदारी अभियोग अघि बढेको हो ।

घटनामा उनको मिलेमतोका प्रशस्त आधार भेटिएको स्रोत बताउँछ । कतिसम्म भने गिरोहका नाइके ताज इस्लामको मोबाइल नै उनले गायब बनाएकी छिन् । ताजसहित सुष्मा विक र भीमादेवी थापालाई प्रहरीले यसअघि नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

बलात्कार मुद्दामा फसाइदिने भन्दै थुनामा राखेर मिलापत्र गराएको सूचना पाएपछि ललितपुर परिसरले सबैलाई जिल्लामा ल्याउन भनेको थियो । लगत्तै इन्स्पेक्टर शाहीले ताजको मोबाइल र मिलापत्रमा दिइएको १० लाखको चेक आफूले लिएर गायब बनाएकी हुन् । यो विषय ताजले बयानमै उल्लेख गरेका छन् ।

आफूसँग मोबाइल मागेर लगेको र फिर्ता नगरेको उनले बताएका छन् । ताजको मोबाइलमा उनीहरूबिच पहिलेदेखि भएका कुराकानीका विवरण थिए । ताजको अन्य प्रहरी अधिकारीसँगको सम्पर्कसमेत बाहिर आउने भएपछि त्यसरी मोबाइल गायब बनाइएको स्रोत बताउँछ । ललितपुर प्रहरी स्रोतका अनुसार अर्की आरोपी सुष्मा विकको मोबाइलमा रहेका घटनासम्बन्धी प्रमाणसमेत उनले नै मेटाएकी छिन् ।

इन्स्पेक्टर शाहीले छानबिन समितिसमक्ष बयान दिनसमेत अस्वीकार गरेकी थिइन् । सुनसरीमा भएको भनिएको बलात्कारको घटनामा उनले भैँसेपाटीमा ल्याएर थुनामा राख्नुले नै पूर्वयोजनाअनुसार नै उनको मिलेमतो देखिएको छ । त्यसरी पक्राउ गरिएको र मिलापत्र गरिएकोबारे माथिल्लो कार्यालयलाई जानकारीसमेत दिइएको थिएन ।

उनकै चालकका रूपमा कार्यरत सहायक हवल्दार हमालले पक्राउ परेका व्यवसायीलाई खातामा पैसा हाल्न बैंकमा लिएर गएका थिए । साथै, मिलापत्रमा पनि उनीहरूले सहजीकरण गरेको छानबिनमा खुलेको छ । कुटपिट गरेको भनेर उजुरी हाल्न लगाए पनि त्यस विषयमा कुनै छलफल नगरी बलात्कार मुद्दामा जाहेरी दिने भन्दै तर्साएर ६० लाख मागिएको थियो । त्यसमध्ये २० लाख ती व्यापारीले खातामा डिपोजिट गरिदिएका थिए भने १० लाखको चेक दिएका थिए ।

३० लाख नदिएसम्म इन्स्पेक्टर शाहीले ती व्यापारीको गाडीसमेत प्रहरी प्रभागमै राखेकी थिइन् । साथै, मिलापत्र गरिदिएबापत थप डेढ लाख रुपैयाँ लिएको बताए पनि उक्त पैसा भेटिएको छैन । घटनाको एक सातापछि इन्स्पेक्टर शाहीलाई निलम्बन गरिएको थियो । घटना संगठित प्रकृतिको देखिएकाले संगठित अपराधसम्बन्धी कसुरमा समेत अनुसन्धान गर्नेबारे प्रहरीले छलफल गरिरहेको छ । हाल आपराधिक लाभ मुद्दामा अनुसन्धान भइरहेको छ ।

नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us