काठमाण्डू, १ कात्तिक- राज्यबाट सामाजिक सुरक्षा भत्ता लिइरहेका दुई लाख ३६ हजार लाभग्राही एकैपटक गायब भएका छन् ।
सामाजिक सुरक्षा नवीकरणका लागि राष्ट्रिय परिचयपत्रको आबद्धता र सीधै खातामा पैसा हाल्ने प्रणाली सुरु भएसँगै आश्चर्यजनक रूपमा लाभग्राही घटेका हुन् । यसले विगतमा सामाजिक सुरक्षा भत्तामा ठुलो रकम हिनामिना भएको आशंका गरिएको छ ।
राष्ट्रिय परिचयपत्र तथा राष्ट्रिय पञ्जीकरण विभागको तथ्यांकअनुसार गत असारसम्म लाभग्राहीको संख्या ३८ लाख २९ हजार ४८९ थियो । तर, २ असोजको विवरणअनुसार लाभग्राही ३४ लाख ९५ हजार ९०६ मात्रै छन् । गत भदौ मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरणको समय थियो ।
तथ्यांकअनुसार एक वर्षमा चार अर्ब ७१ करोड ८२ लाख ६१ हजार रुपैयाँ जोगिने विभागको हिसाबकिताब छ । जुन अघिल्लो आर्थिक वर्षमा नक्कली लाभग्राही खडा गरेर वा दोहोरो वितरण गरेर गोलमाल भएको आशंका गरिएको छ ।
एकैपटक ठुलो संख्यामा लाभग्राहीको नवीकरण नभएपछि विभागले यस विषयमा छानबिन थालेको छ । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्रसमेत खोज्न थालेपछि विगतमा नक्कली लाभग्राही तथा दोहोरो भत्ता बुझ्नेहरू हटेको हुन सक्ने विभागका अधिकारी बताउँछन् ।
विभागका अनुसार गत वर्षका ३८ लाख २९ हजार लाभग्राहीमध्ये दुई लाख २० हजार ५८८ जनाको मृत्युलगायतका कारणले लाभग्राहीको सूचीबाट लगतकट्टा भएको थियो । जुन घटाएर चालू आर्थिक वर्ष (०८१/८२)मा ३६ लाख आठ हजार ९३२ जनाले नवीकरण गर्ने विभागको विश्लेषण थियो । तर, नवीकरणको अवधि सकिँदा भदौ मसान्तसम्म ३३ लाख ७२ हजार ५०९ जनाले मात्र नवीकरण गरेका छन् ।
लगतकट्टा नभएका दुई लाख ३६ हजार ४२३ जनाले नवीकरण नगरेकाले उनीहरू फर्जी लाभग्राही हुन सक्ने आकलन विभागको छ । त्यस्तै, यो अवधिमा एक लाख २३ हजार ३९७ जना नयाँ लाभग्राही थपिएका छन् । नयाँसहित जम्मा लाभग्राहीको संख्या ३४ लाख ९५ हजार पुगेको हो ।
एक वर्षकै अवधिमा यसरी आश्चर्यजनक रूपमा लाभग्राही गायब भएपछि विभागले नवीकरण नगर्नेहरूको विवरण खोजेर छानबिन थालेको हो । विभागका महानिर्देशक युवराज कटेल सामाजिक सुरक्षा भत्तामा राष्ट्रिय परिचयपत्रको प्रयोग र इलेक्ट्रोनिक फन्ड ट्रान्सफर (इएफटी) प्रणालीको कार्यान्वयनका कारण लाभग्राहीको संख्या घटेको बताउँछन् ।
‘प्रणालीमा गरिएको सुधारका कारण पनि वास्तविक लाभग्राहीले मात्र सामाजिक सुरक्षा नवीकरण गरेको हुन सक्छ,’ उनी भन्छन्, ‘किन यसरी ठुलो संख्या घट्यो, विगतमा कसरी धेरै गयो भनेर हामी विस्तृत अध्ययन गर्दै छौँ ।’विभागले गत १ साउनदेखि २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र नम्बर पनि लाभग्राहीको विवरणमा प्रविष्ट गर्न थालेको छ ।
सुरुमा अनिवार्य गर्ने निर्णय भए पनि यसले वृद्धवृद्धालाई समस्या हुन सक्ने भन्दै अनिवार्य गरिएको छैन । तर, नवीकरणको क्रममा परिचयपत्र नम्बर भएकाको उल्लेख गर्न थालिएको छ । यसबाट एकैजनाले दुई ठाउँबाट भत्ता लिएको पत्ता लाग्ने अवस्था छ ।
राष्ट्रिय परिचयपत्र प्रणाली लागू भएसँगै दोहोरो लिनेहरू सहजै पत्ता लाग्ने र यसबाट समस्या हुन सक्ने भयले डराएर धेरैले नवीकरण नगरेको हुन सक्नेसमेत विभागका अधिकारीको विश्लेषण छ ।
विगतमा स्थानीय तहहरूले उपलब्ध गराएको लाभग्राहीको विवरणको आधारमा बैंकहरूले सामाजिक सुरक्षा भत्ता खातामार्फत दिँदै आएका थिए । हाल कोष तथा लेखा नियन्त्रण कार्यालयले इलेक्ट्रोनिक फन्ड ट्रान्सफर (इएफटी) प्रणालीमार्फत सीधै लाभग्राहीको खातामा सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । यसरी वितरण गर्दा पनि नवीकरण हुने संख्या घटेको विभागले जनाएको छ ।
नयाँ पत्रिकाबाट