
एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा युद्धविराम सम्झौताका लागि वार्तामा संलग्न सबै पक्षलाई चेतावनी दिएका छन । बाइडेनले सबै पक्षले युद्धविरामका लागि जारी प्रयासलाई कमजोर बनाउन नहुने बताएका छन ।
राष्ट्रपति बाइडेनले भने, ‘हामी गाजामा युद्धविरामका लागि पहिलेभन्दा नजिक छौँ।’ यद्यपि हमासका एक अधिकारीले उनको दाबीमा आशङ्का व्यक्त गरेका थिए ।
बाइडेनले गाजामा युद्धविराम सम्झौताका लागि प्रयास जारी राख्न विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई इजरायल पठाउने घोषणा पनि गरेको पनि अन्तराष्ट्रि समाचार संस्था बीबीसीले जानकारी दिएको छ ।
बाइडेनको यो चेतावनी अमेरिका, कतार र इजिप्टको संयुक्त वक्तव्यपछि आएको हो । पछिल्लो ४८ घण्टामा तीन देशबिच गम्भीर वार्ता भएको बताइएको छ । यसको उद्देश्य गाजामा युद्धविराम सुनिश्चित गर्नु र बन्धकहरूलाई रिहा गर्नु हो ।
विज्ञप्तिमा भनिएको छ, ‘दोहामा अमेरिका, कतार र इजिप्टले दुवै पक्षलाई प्रस्ताव पेस गरेका छन्, जुन अमेरिकी राष्ट्रपति बाइडेन र सुरक्षा परिषद्ले तोकेको सिद्धान्त अनुरूप छ ।’
तीन देशका वरिष्ठ अधिकारीहरूले सम्झौतालाई अन्तिम रूप दिन अर्को हप्ताको अन्त्यमा इजिप्टको राजधानी कायरोमा फेरि भेट्नेछन्। यस सम्झौतामा मानवीय सहायताका सम्बन्धमा पनि व्यवस्था गरिएको छ ।