पाकिस्तानमा भेटियो ‘एमपक्स’ सङ्क्रमित

काठमाण्डु टुडे २०८१ साउन ३२ गते १४:५५ मा प्रकाशित

काठमाण्डु, ३२ साउन– पाकिस्तानमा ‘एमपक्स’ रोगको सङ्क्रमित भेटिएको छ । खैबर पख्तूनख्वाको मरदान जिल्लामा बस्ने एक व्यक्तिमा सङ्क्रमण फेला परेको पाकिस्तानको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सङ्क्रमित व्यक्ति हालै खाडी मुलुकबाट आएको बताइएको छ । सङ्क्रमित व्यक्तिले यसबिचमा भेट गरेका व्यक्ति पत्ता लगाउन सुरु गरिएको मन्त्रालयका अधिकारीले जनाएका छन् ।

पाकिस्तानको स्वास्थ्य मन्त्रालयले बिहीबारमात्र एमपक्सबारे एडभाइजरी जारी गर्दै विमानस्थल र नाकाहरूमा कडा स्क्रिनिङ भइरहेको जनाएको थियो ।

पाकिस्तानी प्रधानमन्त्रीका हेल्थ को–अर्डिनेटर डा. मुख्तार अहमदका अनुसार सरकारी अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । मन्त्रालयले पनि यसबारे सतर्कता अपनाइएको जनाएको छ ।

एमपक्स सङ्क्रमण यसअघि स्वीडेनमा देखिएको थियो । स्वीडिस एजेन्सीका अनुसार सङ्क्रमित व्यक्ति अफ्रिकाबाट आएका थिए र उनी अफ्रिकामै रहँदा एमपक्सको चपेटामा परिसकेका थिए ।

एमपक्स खासगरी अफ्रिकाको केही भागमा फैलिरहेको छ । विश्व स्वास्थ्य संगठनले एमपक्सको सङ्क्रण खतरालाई मध्यनजर गर्दै ‘ग्लोबल पब्लिक हेल्थ इमर्जेन्सी’ घोषणा गरेको छ ।

अफ्रिकी मुलुक कंगोमा यो रोगको प्रारम्भिक चरणमै ४५० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us