काठमाण्डु, ३१ साउन– अफ्रिकी मुलुकहरुमा मंकीपक्स महामारी फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।
डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले बुधबार आपतकालीन बैठक बोलाएका थिए ।
बैठकमा सदस्यहरुले संकटकाल घोषणा गर्न सुझाएपछि डा. टेड्रोसले उक्त घोषणा गरेको डब्ल्यूएचओले जनाएको छ । अन्तर्राष्ट्रिय कानूनअनुसार महामारी फैलिने जोखिम उच्च भएको अवस्थामा डब्ल्यूएचओ स्वास्थ्य संकटकाल घोषणा गर्न सक्छ ।
यसअघि सन् २०२२ मा पनि क्त रोकगको संक्रमण फैलिएपछि स्वास्थ्य आपतकाल घोषणा गरिएको थियो । निर्देशक टेड्रोसले महामारी प्रभावित मुलुकका सरकारहरु, अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र र सम्वद्ध पक्षलाई महामारीविरुद्ध एक भएर काम गर्न अपिल गरेका छन् ।
उनले महामारीविरुद्धको संघर्षमा सहयोग गर्न आपतकालीन कोषमा रकम उपलब्ध गराइदिन विश्व समुदायलाई आह्वान गरेका छन् ।
कंगोबाट सुरु मंकीपक्सको प्रकोप बुरुण्डी, केन्या, रुवान्डा हुन्दै युगाण्डासम्म विस्तार भएको छ । हालसम्म उक्त रोगका कारण सो महाद्विपमा ५ सय २४ जनाको ज्यान गइसकेको छ । १४ हजार बढीमा संक्रमण पुष्टि भएको छ ।
मंकिपक्स संक्रमितको संसर्गमा रहने मानिसमा सजलै सर्ने संक्रामक रोग हो । शरीरमा फोका आउने र पछि त्यो घाउमा परिणत हुने तथा उच्च ज्वरो उक्त रोगका लक्षण हुन् ।