काठमाण्डु, ३१ साउन– बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध हत्याको दोश्रो मुद्दा दर्ता भएको छ ।
सरकारविरोधी आन्दोलनमा सुरक्षाकर्मीको गोलीले मारिएका विद्यार्थी इस्लाम रोजनका दाजु मोहम्मद राजिवले हसिनासहित २३ जनाविरूद्ध ढाका अदालतमा हत्या मुद्दा दायर गरेका हुन् ।
ढाका डिग्री कलेजका विद्यार्थी रोजनको गत १९ जुलाइमा सरकारविरोधी प्रदर्शन दबाउने क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको थियो । अदालतले स्थानीय प्रहरी चौकीका इन्चार्जलाई जाहेरी दर्ता गर्न निर्देशन दिएको छ ।
मुद्धामा हसिनासहित पूर्वगृहमन्त्री असदुज्जमन खान, अवामी लिगका पूर्वमहासचिव ओबेदल कादर, पूर्वकानुनमन्त्री अनिसुल हक, पूर्व प्हरी महानिरीक्षक चौधरी अबदुल्लाह अल मामुनसहित छन् ।
यसअघि ढाकाको मोहम्मदपुर क्षेत्रमा १९ जुलाइमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका अबु सैयदका आफन्तले मंगलबार हसिनाविरूद्ध हत्याको मुद्दा दायर गरेका थिए ।
सरकारी जागिरमा विद्यमान कोटा प्रणालीविरुद्ध विद्यार्थीले गरेको प्रदर्शन दबाउने क्रममा सुरक्षाकर्मीको गोली लागी ४ सय बढी विद्यार्थीको ज्यान गएको थियो । आन्दोलनकारीहरु प्रधानमन्त्री निवासमै प्रवेश गरेपछि हसिना दुई साताअघि निवास छाडेर भागेकी थिइन् । हाल उनी भारतमा शरण लिएर बसेकी छन् ।