ब्राजिल विमान दुर्घटना: ६२ जनाको शव फेला

काठमाण्डु टुडे २०८१ साउन २७ गते ८:११ मा प्रकाशित

एजेन्सी– ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना भएको स्थानबाट सबै शवहरू फेला परेका छन। शनिबार हताहत हुनेको सङ्ख्या ६२ मा परिमार्जन गरिएको थियो। भोपास एयरलाइनद्वारा सञ्चालित ट्वीन इन्जिन टर्बोप्रप विमान भिन्हेडो सहरमा खसेको थियो ।

भोपासले यसअघि दक्षिणी राज्य परानाको कास्केभेलदेखि साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलका लागि उडान भरेको एटीआर ७२–५०० विमानमा ५७ यात्रु र चार जना चालक दलका सदस्य बोकेको बताएको थियो ।

तर पछि त्यहाँ थप एक यात्रु उडानमा रहेको पुष्टि भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएको छ । सामाजिक सञ्जालमा सेयर भइरहेका भिडियोहरूमा एउटा विमान जमिनमा खसिरहेको देखिएको छ ।

विमान एक आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भए पनि जमिनमा कोही पनि घाइते भएनन्। स्थानीय कन्डोमिनियम कम्प्लेक्समा रहेको एउटा घरमा मात्रै क्षति पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यम बिबिसीले समाचारमा उल्लेख गरेको छ ।

अधिकारीहरूका अनुसार ३४ जना पुरुष र २८ महिलाको शव सङ्कलन गरिएको छ । सबै शवहरूलाई साओ पाउलो सहरको एक शव गृहमा लगिएको छ, जहाँ तिनीहरूको पहिचान गरी परिवारहरूलाई हस्तान्तरण गरिने बिबिसीले जनाएको छ । क्याप्टेन र फस्ट अफिसरको शव भने पहिले नै पहिचान भइसकेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us