
काठमाण्डु, २१ साउन– हिंसात्मक प्रदर्शनपछि देश छोडेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतलमा पुगेकी छन् ।
प्रदर्शनकारीहरूले प्रधानमन्त्री हसिनाको सरकारी आवासमा ढुंगामुडा गरेपछि शेख र उनको बाहिनी बंगलादेश छाडेर अगरतल पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन ।
हसिनाको टोली सुरक्षित स्थानमा गएको बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ । आज राजधानी ढाकामा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।
जात्राबारी र ढाका मेडिकल कलेज क्षेत्रमा भएको प्रदर्शनमा सो मृत्यु भएको हो । कफ्र्यूको वेवास्ता गर्दै दशौं हजार बंगलादेशीहरू सडकमा उत्रिएका छन् ।
विद्यार्थी आन्दोलनको क्रममा बंगलादेशमा अहिलेसम्म कम्तिमा ३०० जनाको मृत्यु भइसकेको बताइएको छ । आन्दोलन दबाउन गएको महिना सरकारले सेनालाई बोलाएको थियो ।