राष्ट्रपतिको दौडानबाट बाहिरिए बाइडन

काठमाण्डु टुडे २०८१ साउन ७ गते १३:०० मा प्रकाशित

 

काठमाण्डु, ७ साउन– अमेरिकी राष्ट्रपति जो बाइडनले आसन्न निर्वाचनबाट आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन । उनले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतीय उम्मेदवारका रूपमा कमला ह्यारिसको नाम सिफारिस गरेको न्यूयोर्क टाइम्सले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

ह्यारिस अहिलेका उपराष्ट्रपति छिन । टाइम्सका अनुसार बाइडनले राष्ट्र र पार्टीको हितका लागि यस्तो निर्णय लिएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन ।

‘राष्ट्रपतिका रूपमा सेवा दिन पाउनु मेरो जीवनको सबभन्दा ठूलो सम्मान हो, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म दोस्रोचोटि पनि प्रतिस्पर्धा गर्न चाहन्थेँ। तर देश र पार्टीको हितका लागि म आफ्नो उम्मेदवारी फिर्ता लिँदैछु। म अब पूरा ध्यान बाँकी कार्यकालको जिम्मेवारी निर्वाह गर्नमा केन्द्रित गर्नेछु ।’

आफ्नो यो निर्णयबारे सार्वजनिक जानकारी दिन यसै साता राष्ट्रका नाममा सम्बोधन गर्ने पनि बाइडेनले उल्लेख गरेका छन्। अमेरिकामा चार महिनापछि राष्ट्रपति पदको निर्वाचन हुँदैछ।

उक्त निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रोचोटि प्रतिस्पर्धा गर्दै छन् । जुन महिनाको आखिरीमा बाइडन र ट्रम्पबीच भएको बहसमा बाइडनको प्रदर्शन निराशाजनक रहेको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us